बलियो टोली थ्री स्टार क्लबलाई हराउँदै घरेलु टोली झापा ११ बिर्तामोडमा आयोजित झापा गोल्डकपको फाइनलमा पुगेको छ।
अत्यान्त प्रतिश्पर्धात्मक शुक्रबारको सेमिफाइनलमा थ्रीस्टारलाई ट्राइब्रेकरमा ३-१ले पन्छाउँदै झापा उपाधि नजिक पुगेको हो।
यो सँगै झापा गोल्डकपको चौथो सिजनसम्म आइपुग्दा घरेलु टोलीले लगातार चौथो पटक फाइनल यात्रा तय गरेको हो। यद्यपी झापाले उपाधि भने जित्न सकेको छैन।
बिर्तामोडस्थित डोमालाल रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको अतिरिक्त समयमा पनि दुबै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको हो।
टाइब्रेकरमा थ्री स्टारका रजिन धिमालले मात्र गोल गर्न सकेका थिए। बुद्ध लिम्बुको प्रहार रोकियो भने रुपेश केसी र मिक्चेन तामाङको प्रहार बाहिरिएसँगै थ्रीस्टारको फाइनल प्रवेश सम्भावना सकियो।
झापाका हेमन गुरूङ र कर्ण लिम्बुको प्रहार थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले रोके पनि पुजन उपरकोटी, देबेन्द्र तामाङ, र गोलरक्षक दिनेश थापामगरको प्रहार गोलमा परिणत भएपछि आहा राराको उपाधि विजेतालाई हराउँदै झापाले अन्तिम २ मा स्थान पक्का गर्यो।
यसअघि खेलको २० औं मिनेटमा झापाका लागि विदेशी खेलाडी फ्रान्सिस ओएमीको कडा प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो।
त्यस्तै खेलको ८२ औं मिनेटमा काजिम बुखासरीको हेडर बार छुँदै बाहिरिँदा झापाले खेलमा अग्रता लिने मौका गुमाएको थियो।
यता थ्री स्टारका सुशील राईले मिलाएको पासलाई अजयी मार्टिनले डि बक्सबाट गरेको हेडर बाहिरिएको थियो। गोलरक्षक दिनेश थापामगर बीट भइसकेको अवस्थामा ३० औं मिनेटमा शुसील राईको हेडर झापाका मिड फिल्डर दिलेन लोक्तामले जोगाएका थिए।
खेलको ७३ औं मिनेटमा अजय मार्टिनको कडा प्रहार बारमा लागेर फर्किदाँ थ्री स्टार अभागी साबित भयो।
खेलको म्यान अफ द म्याच झापा ११ का गोलरक्षक दिनेश थापामगर भए। उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाए।
शनिबारको अन्तिम सेमिफाईनल खेल त्रिभुवन आर्मी क्लब र क्यामरूनको दाफिन्स क्लबबीच हुने आयोजकले जनाएको छ।
यसैबीच बिर्तामोडको हिम इलेक्ट्रोनिक्सले प्रदान गर्दै आएको २८ इन्चको एलइडी टेलिभिजन बिर्तामोडका देवेन निरौलाले पाएका छन्।
टिकट काटेर खेल हेर्न आएका दर्शकमध्ये लक्की ड्र बाट निरौलाले टेलिभिजन हात पारेका हुन् ।
जितपछि पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै झापाका प्रशिक्षक प्रवेश कट्वालले नतिजाप्रति सन्तोष ब्यक्त गरे। यद्यपी उनले मार्क गरेका खेलाडीले अपेक्षित प्रदर्शन गर्न नसकेको बताए।
उनले फाइनलमा आउने टीम हेरेर नयाँ रणनीति बनाउने बताए।
थ्री स्टारका प्रशिक्षक मेघराज केसीले निर्धारित समयमा स्कोर गर्न नसक्दा हार ब्यहोर्नुपरेको बताए। उनले दर्शकले उत्कृष्ट खेल हेर्न पाएको भन्दै खेल ब्यवस्थापनको प्रशंसा समेत गरेका थिए।