मोफसलमा दर्शकले सर्वाधिक रुचाएको झापा गोल्डकपको चौंथो संस्करण अन्तरगत शनिबार (आज) भएको उद्धघाटन खेलमा आयोजक झापा ११ ले शानदार जित निकालेको छ।
विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न उद्घाटन खेलमा झापाले पोखराको सहारा फुटबल क्लबलाई २-० गोलअन्तरले स्तब्ध बनाउँदै अघिल्लो चरणमा प्रवेश गर्यो। झापा ११ को जितका लागि पहिलो हाफमै भएका २ गोल पर्याप्त बन्यो।
खेलको ४० औं मिनेटमा झापाको तर्फबाट मैदानमा रहेका विदेशी खेलाडी काजिम बुखारीले गोल गर्दै खाता खोलेका थिए।
त्यस्तै, क्याप्टेन कर्ण लिम्बूको स्थानमा मैदान प्रवेश गरेका संयोग राईले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै गोल स्कोर दोब्बर बनाए।
घरेलु मैदानमा दर्शकको भरपुर समर्थन पाएको झापाले खेलको पहिलो हाफमा सहारालाई दबाबमा राखेको थियो। दोस्रो हाफमा पनि सहाराले झापालाई एकोहोरो दबाबमा राख्न नसक्दा खेल झापाको पक्षमा रह्यो।
खेलको म्यान अफ दि म्याच झापा ११ का संजोग राई घोषित भए। उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे। आगामी फागुन २७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा हङकङ नेप्लिज एकेडेमीसहित १० टिम सहभागी छन्।
विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। आइतबार सशस्त्र प्रहरीको एपिएफ क्लब र मोरङ ११ एफसीबीच खेल हुने आयोजकले जनाएको छ।