इंग्ल्याण्डका पूर्वस्ट्राइकर तथा अहिलेका नाम चलेका फुटबल विश्लेषक गेरी लिनेकरले भनेका छन्- फुटबल एक सरल खेल हो। २२ जनाले एउटा भकुण्डोलाई लखेट्छन्, र अन्त्यमा जर्मनहरूले जित्छन्।
गत विश्वकपमा लिनेकरको भनाइ ठ्याक्कै मिल्यो। जर्मनी विश्वविजेता बन्यो।
विश्वकप फुटबलको २१औं संस्करण जर्मनीले फिफा वरियताको शीर्ष स्थानमै रहेर सुरू गर्दैछ।
ब्राजिल, स्पेन र फ्रान्स पनि जर्मनीजत्तिकै बलिया छन्। अर्जेन्टिना लियोनेल मेसी र युरोपियन च्याम्पियन पोर्चुगल क्रिस्टियानो रोनाल्डोका भरमा प्रतियोगिता जित्ने आशा बोकेर रूस पुगेका छन्।
फिफा वरियता र लिनेकरको भनाइजस्तै जर्मनीले पाँचौं पटक विश्वकप उचालेर ब्राजिलसँग बराबरी गर्ला त?
यसपालिको विश्वकप कसले जित्न सक्छ भनेर विश्लेषण गर्नुअघि पछिल्ला वर्षमा बलिया र कमजोर टोलीबीचको अन्तर क्रमश: घट्दै गएको कुरा पनि भुल्नु हुँदैन।
विश्वकप खेल्ने सबै ३२ टोलीले आफ्नो दिनमा कुनै पनि अर्को टोलीलाई हराउन सक्छन्। तर आफ्नो दिनमा एक खेल जित्दैमा विश्वकप जितिन्न। न त सबैभन्दा बलियो टोली भएर मात्रै पनि जितिन्छ।
१९७०मा ब्राजिलपछि सायद २०१० मा स्पेनले जित्दा मात्रै प्रतियोगिताको उत्कृष्ट टोलीले विश्वकप उचालेको छ। विश्वकप इतिहासमै सबैभन्दा बलिया तीन टोलीहरूको सूची बनाउने हो भने सायद १९७० को ब्राजिल मात्रै बिजेता टोली हुन्छ होला। योहान् क्रोइफको १९७४ को नेदरल्याण्ड र फेरेन्क पुस्कासको १९५४ को हंगेरी टोली फाइनलमा पराजित भएका थिए।
जित्नका लागि खेल कौशल, मानसिक शक्ति, इतिहाससँगै भाग्य पनि दाहिना हुनुपर्छ। त्यसैले त अहिलेसम्म भएका २० संस्करणमा केवल आठ राष्ट्रले मात्रै विश्वकप उपाधि चुमेका छन्।
ती आठमध्ये जर्मनी र इटालीले बलियो नभए पनि र राम्रो नखेले पनि जितेका छन्। चार पटक विश्वविजेता बनेको इटाली यसपालि विश्वकपमा छानिन सकेन।
इटाली नभए पनि नवौं हुने कोशिश गर्नेमध्येका सबैभन्दा बलिया बेल्जियम र पोर्चुगलको सम्भावना धेरै छैन।
ब्राजिल र जर्मनीजस्ता बलिया टोलीलाई पछि पार्दै पहिलो विश्वकप जित्न बेल्जियम र पोर्चुगललाई गाह्रो देखिन्छ।
२०१४ मा जर्मनीसँग सेमिफाइनलमा ७-१ले पराजित भएपछि आफ्नो भूमिमा छैठौं पटक विश्वकप जित्ने सपना चकनाचूर भएको ब्राजिलले यो पटक जित्छ भन्ने धेरैलाई लाग्छ।
विश्व विजय गर्न निस्केका जर्मनीका हिटलर र फ्रान्सका नेपोलियनका अजेय सेनाजस्तै ती देशका फुटबल टोली पनि रूसमा असफल भए त झन् ब्राजिलको सम्भावना अझै बढ्नेछ। त्यसका आधार पनि छन्।
कोलम्बियासँगको क्वार्टरफाइनल खेलमा नेयमार घाइते भएपछि जर्मनीसँग लज्जास्पद हार बेहोरेको ब्राजिलको अहिलेको टोली २०१४ भन्दा बलियो छ।
रियल मेड्रिडबाट खेल्ने क्यासेमिरो र बार्सिलोनाका फिलिपे काउटिन्होजस्ता राम्रा खेलाडी ब्राजिलको मिडफिल्डमा थपिएका छन्।
सबैभन्दा ठूलो कुरा तीन महिना चोटका कारणले मैदान बाहिर रहेका नेयमारको बोझ कम गर्न यसपालि युवा स्ट्राइकर ग्याब्रियल जिजस टोलीमा छन्।
दुई वर्षअघि विश्वकप छनोट चरणका एक-तिहाइ खेलहरू सकिँदा ब्राजिल दक्षिण अमेरिकामा छैठौं स्थान थियो। त्यही बेला टिटे ब्राजिलका नयाँ प्रशिक्षक बने। त्यसयता ब्राजिलको खेलमा ठूलो सुधार आएको छ। टिटेले नै १९ वर्षीय जिजसलाई टोलीमा मौका दिए।
राष्ट्रिय टोलीबाट जिजसले १६ खेलमा ९ गोल गरेका छन्।
ब्राजिलका समर्थकलाई चाहिएजस्तो आक्रामक खेले पनि टिटेको टोली डिफेन्समा पनि बलियो छ।
चार वर्षअघि जर्मनीसँग ७ गोल खाएजस्तो टिटेको यो टोलीले धेरै गोल खानेछैन।
जर्मनीले यसपालि जिते ब्राजिलको पाँच उपाधिको बराबरी मात्र गर्ने छैन। ब्राजिलले १९६२ मा उपाधि रक्षा गरेपछि लगातार दोस्रो पटक विश्वकप जित्ने पहिलो राष्ट्र पनि बन्नेछ।
२००४ को यूरो कपमा पहिलो चरणबाट बाहिरिएपछि खेलमा संरचनात्मक सुधार गरेर युवा खेलाडी उत्पादनमा ध्यान दिन थाले यताका तीन विश्वकपमा जर्मनीले तेस्रो स्थानभन्दा तल चित्त बुझाउनु परेको छैन।
२०१४ मा उपाधि जिताउने कप्तान फिलिप लाम र मिडफिल्डर बास्टिएन स्वान्स्टाइगरले सन्यास लिए पनि जर्मनीको अहिलेको टोली उत्तिकै बलियो छ।
२०१४ मा जस्तै उच्चकोटीका स्थापित स्ट्राइकर नभए पनि गोल गर्न सक्ने थोमस मुलर, मार्को रोइसलगायत धेरै खेलाडी जर्मनीसँग छन्।
क्लब र जर्मनीबाटै पनि अरू खेल खेल्दा खासै धेरै गोल नगर्ने मुलरले २०१० र २०१४ का विश्वकपमा ५/५ गोल गरे। जबकी २००६ सहित तीन विश्वकप खेलेका मेसीले ५ र रोनाल्डो ३ गोलमात्र गरेका छन्।
युवा स्ट्राइकर टिमो वर्नर पनि चार वर्षअघि अन्तिम विश्वकप खेलिरहेका बुढा मिरोस्लाभ क्लोजाभन्दा प्रभावकारी हुनेछन्।
प्रथम रोजाइका गोलकिपर मेनुअल नोयर घाइते भएर लामो समयपछि फर्केका छन्। उनको प्रदर्शन सन्तोषजनक नभए बार्सिलोनाका मार्क-आन्ड्रे टर स्टेगनजस्ता अब्बल खेलाडी छन्।
गत वर्ष रूसमै भएको कन्फेडेरेसन कपमा जर्मनीले युवा टिममात्र पठाए पनि उपाधि जितेको थियो। ती युवा खेलाडी अहिले स्थापित भइसकेका छन्।
जर्मनीको टोली यति बलियो छ की चार वर्षअघि फाइनलमा बेन्चबाट आएर अर्जेन्टिनाविरुद्ध अतिरिक्त समयमा गोल गरेर विश्वकप जिताउने मारियो गोएट्जा यसपालि टोलीमै परेनन्।
यसपालि मेनचेष्टर सिटीलाई इंग्लिस प्रिमियर लिग जिताउन प्रमुख भूमिका खेलेका र चार वर्षअघिका गोएट्जाजस्तै २२ वर्षीय लिरोय साने पनि टोलीमा छैनन्।
साने नहुँदा गोएट्जाले अर्जेन्टिनाविरुद्ध फाइनल जिताए जस्तै बेन्चबाट आएर जिताउने खेलाडीको कमी हुने भनिए पनि सानेको बदलामा टोलीमा परेका अर्का युवा खेलाडी जुलियन ब्रान्ड्ट पनि धेरै प्रतिभावान छन्।
जर्मनी ठूला प्रतियोगितामा बलियो हुनुका अरू पनि कारण छन्। जर्मनीका लगभग सबै खेलाडी घरेलु लिगमा खेल्छन्। अन्य प्रमुख लिगमा २० टोली भए पनि बुन्डेसलिगामा १८ टोलीमात्रै हुन्छन्। अरू देशमा एक सिजनमा ३८ खेल खेल्नु पर्नेमा जर्मनीमा ३४ मात्रै खेल्नु पर्छ। पहिलो रोजाइका ११ जनामध्ये आधाजसो बायर्न म्युनिकबाट खेल्छन्। घरेलु लिगमा एकाधिकार जमाउने बायर्नले प्राय: धेरै खेल बाँकी रहँदै उपाधि जित्ने भएकाले सिजन अन्त्यतिर मुख्य खेलाडीलाई खेलाइरहनु पर्दैन। त्यसैले जर्मनीका खेलाडीहरू ठूला प्रतियोगिता खेल्दा तुलनात्मक रूपमा कम थाकेका हुन्छन्।
बलिया देशका राष्ट्रिय टोलीका खेलाडी वर्षको लगभग ५० दिनमात्रै सँगै हुन्छन्। अरू बेला विभिन्न क्लबबाट खेल्ने हुनाले तालमेल खासै हुन्न।
अधिकांश खेलाडी एउटै क्लबबाट खेल्ने भएकाले अरु टोलीका तुलनामा जर्मन राष्ट्रिय टोलीको तालमेल पनि राम्रो हुन्छ।
स्पेनको यसपालिको टोली पनि बलियो छ। स्पेनका पनि धेरै खेलाडी मुख्यत: रियल मेड्रिड र बार्सिलोनाबाट खेल्ने भएकाले जर्मनीजस्तै तालमेल राम्रो हुन्छ।
२०१०मा विश्वकप जित्दाजस्तो उत्कृष्ट नभए पनि सो टोलीका केही खेलाडी अझै छन्। स्पेनको जत्तिको बलियो गोलकिपरसहितको डिफेन्स लाइन यो विश्वकपमा अर्को छैन। जाभीले सन्यास लिइसकेको र २०१०को फाइनलमा बिजयी गोल हान्ने उनका बार्सिलोनाका सहकर्मी आन्ड्रेस इनिएस्टा खेल जीवनको उत्तरार्धमा भए पनि स्पेनको मिडफिल्ड अहिले पनि बलियै छ।
स्पेनी टोलीमा युवा र अनुभवीको सही मिश्रण छ। ब्राजिलमा जन्मिएर ब्राजिलको राष्ट्रिय टोलीबाट दुई खेल खेलेपछि स्पेनबाट खेल्न थालेका स्ट्राइकर डिएगो कोस्टाको खेलशैली स्पेनसँग नमिल्ने भएकाले उनी राष्ट्रिय टोलीका लागि चेल्सी र एट्लेटिको मेड्रिड जति सफल हुन सकेका छैनन्।
तुलनात्मक रूपमा फरवार्ड लाइन कमजोर भए पनि समग्रमा यो टोलीले दोश्रो विश्वकप जिताउने हैसियत राख्छ।
यो प्रतियोगितामा सबैभन्दा बलियो टोली सम्भवत: फ्रान्सको छ।
डिफेन्समा रियल मेड्रिडबाट खेल्ने रफायल भरान र बार्सिलोनाका सामुयल उमटिटी, मिडफिल्डमा चेल्सीका एङ्गोलो कान्टे र मेनचेष्टर युनाइटेडका पउल पोग्बा, फरवार्डमा एट्लेटिको मेड्रिडका एन्टोइन ग्रिजमेन र पेरिस सेन्ट जर्मनका १९ वर्षीय स्टार फरवार्ड काइलियन म्बाप्पेजस्ता अब्बल खेलाडी छन्।
फ्रान्सका कोच डिडियर देस्साममाथि भने धेरैलाई विश्वास छैन। युरो २०१६को फाइनलमा २५ मिनेटमै रोनाल्डो घाइते भएर बाहिरिए पनि धेरै कमजोर पोर्चुगलसँग अतिरिक्त समयमा हार्दा पनि उनी नै फ्रान्सका कोच थिए। १९९८को विश्वकप र २०००को युरो कप जिताउने कप्तान भएकै कारणले उनले अहिलेसम्म मौका पाइरहेको ठान्नेहरू धेरै छन्। २०१६ पछि म्बाप्पे र बार्सिलोनाबाट खेल्ने ओसमान डेम्बेलेको उदयपश्चात् अझ बलियो भए पनि कोचका कारण फ्रान्सले यसपटक जित्न नसक्ने दाबी गर्नेहरू पनि छन्।
अर्जेन्टिनाका जोर्गे साम्पाओली उत्कृष्ट कोच हुन् तर खेलाडी भने फ्रान्सका भन्दा धेरै कमजोर छन्।
मेसीले छनोट चरणको अन्तिम खेलमा इक्वेडरसँग ह्याट्रिक गरेर बल्लतल्ल विश्वकपसम्म तानेको अर्जेन्टिनाको टोली यति कमजोर छ कि यूरो २०१६मा इंग्ल्याण्डलाई हराएर क्वार्टरफाइनलसम्म पुगेको आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया रहेको समूहबाट दोश्रो चरणमै पुगेन भने पनि ठूलो आश्चर्य हुने छैन।
यो टोलीका मेसी र युभेन्टसबाट खेल्ने पाओलो दिबाला र मेनचेष्टर सिटीबाट खेल्ने सर्जियो अगुएरोबाहेक अर्को कुनै पनि खेलाडी जर्मनी, ब्राजिल, फ्रान्स र स्पेनको प्लेइङ ११ मा पर्दैनन् होला।
यो सिजनमा इन्टरमिलानका लागि उत्कृष्ट फर्ममा रहेका स्ट्राइकर माओरो इकार्डी अर्जेन्टिनाको टोलीमै छेनन्।
सेम्पडोरियामा हुँदा सँगै खेल्ने अर्जेन्टिनाकै मयाक्सी लोपेजकी श्रीमतीसँग विवाह गरेका कारण लोपेजका साथी मेसीले भिटो प्रयोग गरेर उनलाई टोलीमा नराखेको भनिन्छ।
२०१५ को कोपा अमेरिका फाइनलमा चिलीलाई आफ्नै देशविरुद्ध आश्चर्यजनक जित दिलाएका अर्जेन्टिनी कोच साम्पाओलीका लागि सबैभन्दा ठूलो चुनौती आफ्ना दुई उत्कृष्ट खेलाडी मेसी र दिबालालाई सँगै कसरी खेलाउने भन्ने हुनेछ।
एकै स्थानमा खेल्ने मेसी र दिबालाको खेलशैली पनि उस्तै छ। त्यही कारण दिबाला प्लेइङ ११ मा पर्दैनन्। आफ्नो टोलीले ठूलो अग्रता नलिएसम्म मेसीले प्राय: पूरै समय खेल्ने भएकाले दिबालाले बेन्चबाट पनि बिरलै मात्रै मौका पाउँछन्।
यो सिजनमा नेयमार बेचिसकेको र लुइस सुआरेज खराब फर्ममा हुँदा लगभग एक्लै ला लिगाको सुरूका आधा जति खेलमा बार्सिलोनालाई जिताएका मेसीले विश्वकपमा पनि त्यस्तै खेल्नु पर्नेछ।
बार्सिलोनाले यसपालि सजिलै लिग जितेको र च्याम्पियन्स लिगको पनि क्वार्टरफाइनलमै पराजित भएकाले मेसीले सिजनको अन्तिमतिर आराम गर्न पाए। त्यसैले २०१० र २०१४का तुलनामा उनी विश्वकपताका थाकेका हुने छैनन्। तर पनि अर्जेन्टिनाको यति कमजोर टोलीलाई दिबाला, अगुएरो र पेरिस सेन्ट जर्मानबाट खेल्ने एंगेल दि मारियाको साथ पाए पनि जिताउन मेसीलाई धेरै गाह्रो पर्नेछ।
आफ्नै बुतामा विश्वकप जिताउने सम्भवत: मेसीका लागि यो अन्तिम मौका हुनेछ।
चेल्सीका गोलकिपर थियाबो कोर्तुवा र फरवार्ड एडेन हाजार्ड, मेनचेष्टर सिटीका प्लेमेकर केविन दि ब्रोएन र मेनचेष्टर युनाइटेडका शक्तिशाली स्ट्राइकर रोमेलु लुकाकुसहितको बेल्जियमको पनि प्लेइङ ११ बलियो छ।
जर्मनी, ब्राजिल, फ्रान्स र स्पेनको जस्तो बेन्चमा उत्कृष्ट खेलाडीहरू नभए पनि बेल्जियमको प्लेइङ ११ विगतका धेरै विश्वकप विजेता टोलीभन्दा बलियो छ।
फ्रान्सजस्तै बेल्जियमका कोच रोबर्टो मार्टिनेजप्रति पनि धेरैको भरोसा छैन। अहिलेसम्म विश्वकप नजितेका कारणले नकआउट चरणमा अगाडि बढ्दै जाँदा बेल्जियममाथि धेरै दबाब हुनेछ र पहिले उपाधि जितिसकेका टोलीहरूलाई पराजित गर्न गाह्रो पर्नेछ।
रोनाल्डोकै भरमा यूरो २०१६ को फाइनलसम्म पुगेर आफूभन्दा धेरै बलियो फ्रान्सलाई हराई उपाधि जितेको पोर्चुगललाई त्यस्तै सफलता पाउन धेरै गाह्रो पर्नेछ।
त्यसयता मेनचेष्टर सिटीका बर्नार्डो सिल्भा र भ्यालेन्सियाका गोन्सालो गेडिसजस्ता राम्रा युवा खेलाडी फरवार्ड लाइनमा थपिए पनि ३३ वर्षीय रोनाल्डोकै खेल उमेरका कारण २०१६ का तुलनामा खस्किएको छ। अहिलेसम्म विश्वकप नजितेको इतिहासको दबाब पनि टोलीमाथि हुनेछ।
हरेकजसो विश्वकपमा पूरा हल्लीखल्लीसाथ आउने इंग्ल्याण्डबाट यसपालि धेरै अपेक्षा गरिएको छैन। सजिलो समूहमा परेको, आशाको बोझ पनि नबोकेको र अघिल्लो संस्करणको लज्जाजनक प्रदर्शनको चोट पनि नबोकेको युवा खेलाडीले भरिएको टोलीलाई क्वार्टरफाइनबाट अगाडि बढ्न भने कठिन हुनेछ।
बरू यसपटकको अनुभव र ठूला प्रतियोगिताअघि खेलाडी नथाकुन् भनेर २०१९-२०को सिजनदेखि प्रिमियर लिगमा पनि अरू प्रमुख युरोपेली लिगको जस्तो विन्टर ब्रेकको व्यवस्था गरेकाले यो टोलीले २०२०मा यूरो कपमाचाहिं बलियो दाबेदारी प्रस्तुत गर्ला भन्न सकिन्छ।
बाँकी टोलीमध्ये उरुग्वेको डिफेन्स बलियो छ तर पनि स्ट्राइकरहरू सुआरेज र पेरिस सेन्ट जर्मानका एडिसन काभानी खेल जीवनको उत्तरार्धमा भएकाले धेरै आशा गर्न सकिन्न।
जेम्स रोड्रिगेजको कोलम्बिया र मेक्सिको पनि बलिया छन् तर यी टोलीहरू नकआउट चरणमा धेरै टिक्न गाह्रो हुन्छ।
घरेलु टोली भए पनि रूस प्रतियोगिताका ३२ टोलीमध्ये फिफा वरियतामा सबैभन्दा पुछारमा (७०) छ। समूह चरणबाटै बाहिरिने दक्षिण अफ्रिकापछि दोश्रो आयोजक राष्ट्र नहुनु नै उसका लागि सफलता हुनेछ।
अरु टोलीहरूले उपाधि जित्नेभन्दा पनि कुनै खेलाडीको व्यक्तिगत सफलता वा कुनै ठूला टोलीलाई हराएर वाहवाही बटुल्नु पर्नेछ। एसिया र अफ्रिकाका टोलीका लागि पनि दोश्रो चरणमा पुग्नु नै सफलता हुनेछ।
यसरी हेर्दा यो विश्वकपमा ब्राजिल, जर्मनी, स्पेन र केही हदसम्म फ्रान्स मुख्य दाबेदार हुनेछन्।
उनीहरूको दाबेदारी चुनौतीरहित भने पक्कै छैन। फ्रान्सेली दार्शनिक जँ-पउल सार्त्रले भनेजस्तै फुटबलमा विपक्षी टोलीको उपस्थितिले मात्रै पनि सबै चिजलाई जटिल बनाइदिन्छ।