करिम बेन्जेमाले दुई गोलको मद्धतमा स्पेनिस क्लब रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
मंगलबार घरेलु मैदान सान्टियगो बर्नाबाउमा बायर्न म्युनिखलाई २-२ को बराबरीमा रोक्दै समग्रमा ४-३ को जितसहित रियल उपाधि नजिक पुगेको हो।
खेलको तेस्रो मिनेटमै गोल खाएको घरेलु टोली रियल पछि खेलमा फर्किएको हो।
टोली सम्हालिन नपाउँदै तेस्रो मिनेटमा बायर्नका जोसुआ किमिचले पाहुना टोलीलाई अग्रता दिलाएका थिए। तर, करिम बेन्जेमाले ११ औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएपछि टोलीलाई खेलमा फर्काए।
पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो। दोस्रो हाफमा दुई टोलीले थप एक-एक गोल गरे।
दोस्रो हाफको सुरुवातमा बेन्जेमाले नै गोल गर्दै रियललाई अग्रता दिलाए। तर त्यसको १५ मिनेटपछि बायर्नको लागि रियलका पूर्व खेलाडी हामेस रोड्रिग्वेजले गोल गर्दै खेल पुनः २-२ को स्थितिमा ल्याए।
त्यसपछि दुबै टोलीबाट कुनै गोल भएन। खेल बराबरीमा सकियो।
यता पहिलो लेगमा २-१ को हार बेहोरेको बायर्न सेमिफाइनलबाटै बाहिरिन बाध्य भयो। समग्रमा ४-३ को जितसहित रियल लगातार तेस्रो उपाधि नजिक पुग्यो।
रियल मड्रिडले युरोपियन प्रतियोगितामा लगातार तीन सिजन फाइनलमा पुगेर कीर्तिमान बनाएको छ, त्यो पनि दुई पटक । यसपटकको फाइनल यात्रा रियलको पछिल्लो तीन सिजनमा तेस्रो पटक हो ।
रियल यसअघि पनि प्रतियोगितामा लगातार तीन वा त्यो भन्दा बढी पटक फाइनलमा प्रवेश गरेको थियो। रियल मड्रिड यसअघि सन् १९५६ देखि १९६० सम्ममा पाँच सिजन युरोपियन कपको फाइनलमा पुगेको थियो र जितेको थियो ।
रियल बाहेक अरु पाँच क्लब युरोपियन कप वा च्याम्पियन्स लिगको फाइनलमा लगातार तीन सिजन फाइनलमा पुगेका छन्। यसमा बेन्फिका, अजाक्स, बार्यन म्युनिख, एसी मिलान र युभेन्टस रहेका छन् ।
तर रियल मड्रिडले एक पटक होइन दुई पटक यस्तो गर्न सफल भएको हो। रियल मड्रिडको किएभमा हुने फाइनल यात्रा युरोपियन कपमा १६ औँ हुनेछ र यो अरु कुनै पनि क्लबको भन्दा धेरै हो ।
रियलले लगातार तेस्रो उपाधिका लागि रोमा र लिभरपुलको विजेतासँग खेल्नेछ।