मनाङलाई हराउँदै थ्रीस्टार विराट गोल्डकपको सेमिफाइनलमा


मनाङ मर्स्याङ्दीलाई हराउँदै थ्री–स्टार क्बल विराटनगरमा जारी पाँचौ विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सहिद रंगशालमा बिहिबार साँझ अन्तिम क्वार्टरफाइनलमा मनाङको चुनौती २-१ ले पन्छाउँदै थ्री–स्टार अन्तिम चारमा प्रवेश गरेको छ।

पहिलो हाफसम्म १–० गोल अन्तरले अगाडि रहेको मनाङ अन्तिम २० मिनेट सम्मालिन नसक्दा थ्री–स्टारसँग पराजित हुन पुग्यो।

उत्कृष्ट पुनरागमन गर्दै खेलमा फर्किएको थ्री स्टारको जितमा विमल घर्तीमगर र विदेशी खेलाडी मार्टिनले गोल गरे। पहिलो हाफमा आक्रमक रूपमा प्रस्तुत भएको मनाङले खेलको १९ औं मिनेटमा सुवास गुरुङको पासमा विशाल राईले गोल गर्दै सुरूवाती अग्रता दिलाए।

दोस्रो हाफमा आक्रमक रूपमा प्रस्तुत भएको थ्री–स्टारले मनाङलाई दबाबमा राख्यो। खेलको ७१ औं मिनेटमा थ्रि स्टारले बराबरी गर्‍यो।

विमल घर्तिमगरले पेनाल्टी सुटआउटबाट गोल गर्दै थ्रि–स्टारलाई खेलमा फर्काएरका हुन्। मनाङका गोलरक्षक विशाल श्रेष्ठले विपक्षी खेलाडी मार्टिनलाई डिबक्स भित्र गलत ‘ट्याकल’ गरेर लडाएपछि रेफ्री श्रवण लामाले थ्री–स्टारलाई पेनाल्टीको अवसर दिएका थिए।

त्यसको ४ मिनेटपछि थ्री स्टारले खेलमा अग्रता लियो। थ्री–स्टारका विदेशी खेलाडी माट्रिनले हेडिङ मार्फत गोल गर्दै थ्री–स्टारको २–१ को स्थितिमा पुर्‍याए। बिमलको लामो पासमा माट्रिनले गरेको गोल नै निर्णायक बन्न पुग्यो।

यसअघि दुबैले पाएका केही राम्रा अवसर गुमाएका थिए।

८३ मिनेटमा अन्जन विष्टको पासमा विमल रानाको हेड असफल हुँदा मनाङ पाँचौं पटक पनि थ्रि–स्टारसँग पराजित हुन पुग्यो।

तीन महिना यता यो सिजनमा विराट गोल्डकपसहित मनाङले थ्री–स्टारसँग पाँचौं पटक पराजय भोग्न पुग्यो। गत सोमबार मात्रै बुटवलमा सम्पन्न तेस्रो मदन भण्डारी गोल्डकपको फाइनलमा मनाङ थ्री–स्टारसँग २–१ गोल अन्तरले पराजित भएको थियो।

मनाङलाई १–० अन्तरले पराजित गर्दै इटहरीमा सम्पन्न मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकपमा पनि थ्री स्टार विजयी बनेको थियो। बुटवलमा सम्पन्न २० औं तिलोत्तमा गोल्डकप र चितवनमा सम्पन्न विकास रनिङ शील्डमा पनि थ्रि–स्टारले मनाङलाई सेमिफाइनलमा हराएको थियो।

थ्रि–स्टारका प्रशिक्षक मेघराज केसीले मनाङ र थ्री–स्टारको खेललाई नेपालमा विशेष रुपले हेर्ने गरिएको बताए। उनले दुबै टिमले उत्तिकै प्रदर्शन गर्ने भएकाले बढी मेहनत गर्ने टिमको पक्षमा नतिजा आउने बताए।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङले खेलाडीले राम्रो प्रदर्शन गर्दा गर्दै पनि हार बेहोर्नु परेको बताए।

खेलको म्यान अफ द म्याच थ्रि–स्टारका खेलाडी माट्रिन भए।

प्रतियोगिताको शुक्रबारको पहिलो सेमिफाइनल खेल झापा ११ र नेपाल आर्मीको त्रिभुवन क्बलबीच हुनेछ। दोस्रो सेमिफाइनलमा अब थ्री स्टारले संकटाको सामना गर्नेछ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.