म्यानचेस्टर सिटीमाथि लिभरपुलको शानदार जित


म्यान्चेष्ट सिटीमाथि इंग्लिश क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा शानदार जित निकालेको छ।

बुधबार राति भएको पहिलो लेगमा सिटीलाई ३–० ले हराउँदै लिभरपुलले शानदार जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन मोहमद सलाह, एलेक्स चेम्बरलिन र साडियो मानेले समान एक-एक गोल गरे।

लिग लिडर सिटीविरुद्ध लिभरपुलले तीनै गोल पहिलो हाफमा गरेको थियो।

खेलको १२औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए। खेलको २१ औं मिनेटमा चेम्बरलिनले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए। खेलको ३१ औं मिनेटमा मानेले थप एक गोल गरेपछि लिभरपुलले पहिलो हाफमा ३ – ० को अग्रता बनायो।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको सिटीले लिभरपुललाई रोकेपनि गोल गर्न सकेन।

यसैबीच पहिलो लेगमा लिभरपुलले ३–० को फराकिलो जित दर्ता गर्न सफल रह्यो।

सिटीमाथिको जितसँगै लिभरपुलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। दोस्रो लेग अप्रिल १२ मा सिटीको मैदान इदिहाद स्टेडियममा हुने छ। दोस्रो लेगमा लिभरपुलले बराबरी खेल च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्नेछ। सिटीलाई भने फराकिलो जित बाहेक अन्य विकल्प रहेको छैन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.