आगामी डिसेम्बरको अन्त्यमा काठमाडौंमा हुने एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटमा खेलाडी अनुबन्धका लागि झण्डै ५९ लाख रुपैयाँ खर्चिएको छ।
६ वटा टिमले अधिकतम १० लाख रुपैयाँ खर्च गर्न पाउने प्रावधान अनुसार १०/१० जना खेलाडी अनुबन्ध गर्न ती टिमले ५८ लाख ८० हजार रुपैयाँ खर्च गरेका हुन्। सोमबार भएको बोलकवोलमा विराटनगर वारियर्स र भैरहवा ल्याडियटर्सले १०/१० लाख रुपैयाँ खर्च गरेका छन् भने काठमाडौं किंग्स इलेभेन र ललितपुर प्याट्रियोर्टसले ९ लाख ९५ हजारका दरले खेलाडी किनेका छन् । यस्तै पोखरा राइनोजले ९ लाख ९० हजार र चितवन टाइगर्सले ९ लाख २० हजार रुपैयाँ खर्च गरेका छन् ।
यो वर्षको इपिएलमा बढी मूल्यमा बिक्री भएका खेलाडीमा अलराउन्डर आरिफ शेख, तीव्र गतिका बलर करण केसी, युवा स्पिनर सन्दीप लामिछाने र विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी छन्।
पहिलो श्रेणीका चारै खेलाडी १ लाख ७५ हजार रुपैयाँमा बिक्री भएका हुन्। यस श्रेणीका खेलाडीका लागि अधिकतम मूल्य १ लाख ७५ हजार नै राखिएको थियो। आरिफलाई भैरहवाले, करणलाई विराटनगरले, सन्दिपलाई ललितपुरले र विनोद भन्डारीलाई पोखराले अनुबन्ध गरेका हुन्।
इपिएलमा सहभागी हुन हुन १ सय ६० खेलाडीले नाम दर्ता गराएका थिए । यीमध्ये ९० खेलाडीलाई सोमबार भएको अक्सन (बोलकबोल) मा सहभागी गराइएको थियो । अक्सनमा प्रत्येक टिमले १०–१० खेलाडी आफ्नो टिममा भित्र्याएका छन्। योसँगै अब एक टिममा ११ खेलाडी आबद्ध भएका छन्। यसअघि १-१ खेलाडी मार्की खेलाडीका रुपमा आबद्ध भएका थिए।
सोमबार भएको अक्सनमा ३ श्रेणीका खेलाडी सहभागी थिए, जसमा ३ वर्ष राष्ट्रिय टिमबाट खेलेका खेलाडी पहिलो श्रेणीमा थिए। दोस्रो श्रेणीमा उमेरसमूहको राष्ट्रिय टिमबाट नेपालको जर्सी लगाएका तथा ३ वर्षभन्दा कम समय राष्ट्रिय टिमबाट खेलेका खेलाडीलाई राखिएको थियो । तेस्रो श्रेणीमा विगत ५ वर्षमा राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी थिए।
पहिलो श्रेणीका खेलाडीको न्यूनतम मूल्य १ लाख र उच्चतम १ लाख ७५ हजार रूपैयाँ रहेको थियो । दोस्रो श्रेणीको खेलाडीको न्यूनतम मूल्य ७५ हजार र तेस्रो श्रेणीका खेलाडीको ५० हजार रुपैयाँ राखिएको थियो।
यसअघिनै इपिएलमा भाग लिने ६ सहरका टोलीको नाम र मालिक सार्वजनिक गरिएको थियो। इपिएल खेल्ने टोलीमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स छन्।
काठमाडौंमा सोमपाल कामी, ललितपुरमा ज्ञानेन्द्र मल्ल, विराटनगरमा पारस खड्का, भैरहवामा शरद भेषावकर, पोखरामा शक्ति गौचन र चितवनमा दीपेन्द्रसिंह ऐरी ‘मार्की’ खेलाडीका रुपमा आबद्ध भएका थिए । ‘मार्की’ खेलाडीको न्यूनतम पारिश्रमिक २ लाख रुपैयाँ रहेको इपिएलले जनाएको छ।
इपिएलले टिम मालिकमा रोहित गुप्ता (काठमाडौं), किशोर महर्जन (ललितपुर), विशाल अग्रवाल (विराटनगर), आदित्य संघाई (भैरहवा), साहिल अग्रवाल (पोखरा) र किशोर भट्टराई (चितवन) छन्।
अब एक टिममा ३–३ जना विदेशी तथा एक स्थानीय खेलाडी ट्यालेन्ट हन्टमार्फत छानिनेछ।
हेर्नुहोस् कुन खेलाडीको कति मूल्य