काठमाडौं जिल्ला त्रिकोणात्मक सिरिज घरेलु टोली काठमाडौंले जितेको छ। काठमाडौंले लिगको अन्तिम ललितपुरलाई ९१ रनले हराउँदै सिरिज जितेको हो।
मंगलबार तल्लो मुलपानी मैदानमा काठमाडौंले पहिले ब्याटिङ गर्दै ३९ ओभरमा १८५/१० बनायो। जवाफी ब्याटिङ ललितपुर २२.५ ओभरमा ९४/१० मा अलआउट भयो।
काठमाडौंका लागि प्लेयर अफ दि म्याच सोनु देवकोटाले नटआउट ६२ बनाए। उनले ४५ बलमा ५ चौका र ५ छक्का प्रहार गरेका थिए। यस्तै ओपनर रिट गौतमले ६० रनको योगदान गरे।
लक्ष्य पछ्याएको ललितपुरका लागि आदिल खानले सर्वाधिक २३ रन जोडे।
बलिङमा काठमाडौका सन्दीप पराजुली, सुमन विश्वकर्मा, दयानन्द मण्डल र धिरज देउवाले २-२ विकेट लिए।
काठमाडौं जिल्ला क्रिकेट संघले उपत्यकाका तीन टोलीबीच आयोजना गरेको सिरिजको लिग चरणमा तीनै टोलीले एक एक खेल जितेका थिए भने एक एक खेलमा हार ब्यहोरेका थिए। रनरेटको आधारमा काठमाडौं विजेता बनेको हो।
