भारतका टी-२० कप्तान सूर्यकुमार यादवलाई अबदेखि राजनीतिक टिप्पणी नगर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नर्देशन दिएको छ।
आइसिसी मुख्यालय दुबईमा भएको सुनुवाइपछि म्याच रेफ्री रिची रिचर्डसनले यादवलाई अब आइन्दा खेलका दौरान राजनीतिक टिप्पणी नगर्न भनेका हुन्। यद्यपी सूर्यकुमारलाई अन्य कुनै कारबाही हुन्छ वा हुँदैन भन्ने स्पष्ट भने पारिएको छैन।
सूर्यकुमारविरूद्ध पाकिस्तान टोली व्यवस्थापनले उजुरी दिएपछि आइसिसीको यस्तो निर्णय आएको इएसपिएन क्रिकइन्फले लेखेको छ।
गत सेप्टेम्बर १४ मा एसिया कपको समूह चरणमा पाकिस्तानलाई हराएपछि भारतीय सूर्यकुमारले राजनीतिक टिप्पणी गरेका थिए।
उनले पाकिस्तानविरूद्धको जित ‘पहलगाम आतंककारी हमलाका पीडितका परिवारहरूलाई’ समर्पित गर्ने भन्दै टिप्पणी गरेकी थिए। पाकिस्तानले सूर्यकुमारको टिप्पणीलाई ‘राजनीतिक’ भनेको थियो।
पाकिस्तान क्रिकेट बोर्डले गत हप्ता लाहोरमा आयोजित पत्रकार सम्मेलनमा यो कुरा उठाएको थियो।
पाकिस्तानले सूर्यकुमारले ‘अपरेशन सिन्दूर’ भन्ने शब्द प्रयोग गरेकोमा आपत्ति जनाएको थियो। यो शब्द भारतीय सरकारले अप्रिलमा पहलगाम आतंककारी हमलापछि दुई देशबीच भएको सैन्य कारबाहीका बेला प्रयोग गरेको थियो।
भारतले सुपर फोरमा पाकिस्तानसँगको भिडन्तका क्रममा साहिबजादा फरहान र हरिस रउफले देखाएको हाउभाउबारे आइसिसीमा दिएको उजुरीमाथि शुक्रबार सुनुवाइ हुनेछ। सो खेलमा खेलाडीबीच धेरै पटक भनाभन भएको तनावपूर्ण खेलका क्रममा मैदानमा ती हाउभाउ देखाइएका थिए।