भारतीय टेस्ट टोलीले अर्को महिना वेस्ट इन्डिजसँग खेल्ने दुई खेलको सिरिजका लागि राष्ट्रिय टोली घोषणा गरेको छ।
सिरिजका लागि रविन्द्र जडेजालाई उप-कप्तान बनाइएको छ। यो उनको टेस्ट क्रिकेटमा पहिलो पटक उप-कप्तानको भूमिका हो। यद्यपि उनले यसअघि एकदिवसीय र टी-२० मा यो जिम्मेवारी सम्हालेका छन्।
शुभमन गिलले यस टेस्ट सिरिजमा टोलीको नेतृत्व गर्नेछन्। यसअघि उनले यसै वर्ष इङ्ल्यान्डमा कप्तानको रूपमा डेब्यू गरेका थिए। इङ्ल्यान्ड भ्रमणमा उप-कप्तान रहेका ऋषभ पन्त भने चोटका कारण टोलीमा छैनन्।
इङ्ल्यान्डविरुद्धको चौथो टेस्टमा ब्याटिङ गर्दा उनको खुट्टामा चोट लागेको थियो। उनी अहिले बेङ्गलोरस्थित बीसीसीआईको सेन्टर अफ एक्सिलेन्समा उपचाररत छन्। टोलीमा ध्रुव जुरेल र एन जगदीसन गरी दुई विकेटकिपर छन्, जसमा जुरेलले पहिलो रोजाइको रूपमा खेल्ने सम्भावना छ।
इङ्ल्यान्ड भ्रमणमा गएका अभिन्यु ईश्वरन, करुण नायर, आकाश दीप, अंशुमान कम्बोझ, अर्शदीप सिंह र शार्दूल ठाकुर यसपटक टोलीमा छैनन्। पन्त पनि अनुपस्थित छन्। अभिन्यु, आकाश दीप र कम्बोझलाई अक्टोबर १ मा नागपुरमा हुने इरानी कपका लागि रेस्ट अफ इन्डियाको टोलीमा राखिएको छ। आकाश दीपले इङ्ल्यान्डमा लागेको सामान्य चोटबाट निको हुने बताइएको छ। जसका कारण उनी दुलीप ट्रफी र हालैका भारत ए का खेलहरूमा अनुपस्थित थिए।
अक्षर पटेल, देवदत्त पडिक्कल र जगदीसनलाई टोलीमा समावेश गरिएको छ। पन्त घाइते भएपछि जगदीसनलाई इङ्ल्यान्डविरुद्धको अन्तिम टेस्टका लागि बोलाइएको थियो।
वेस्ट इन्डिज टेस्टका लागि भारतीय टोली
कप्तान: शुभमन गिल, उप-कप्तान: रविन्द्र जडेजा, यशस्वी जैसवाल, केएल राहुल, साई सुदर्शन, देवदत्त पडिक्कल, ध्रुव जुरेल (विकेटकिपर), वाशिंगटन सुन्दर, जसप्रीत बुमराह, अक्षर पटेल, नितिश कुमार रेड्डी, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, कुलदीप यादव, एन जगदीसन (विकेटकिपर)