आइसिसी यू-१९ विश्वकप छनोटको तयारीमा रहेको नेपाली युवा टोलीले अभ्यास खेलमा भारतको दिल्ली यू-१९ टोलीलाई पराजित गरेको छ।
मंगलबार वीरगञ्जमा भएको पहिलो एकदिवसीय खेलमा नेपालले दिल्लीलाई ५ विकेटले हरायो।
दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ३१ ओभरमा पूरा गर्यो।
नेपालका लागि अमर मिश्रले सबैभन्दा बढी २७ रन जोडे भने रोशन विकले नटआउट २५ रनको योगदान दिए। सिब्रिन श्रेष्ठले १७ रन र कप्ताान नरेन भट्टले १८ रन बनाए।
त्यसअघि नेपालका ओपनरद्वय निरजकुमार यादव र शाहिल पटेल दुवै शून्यमा आउट भएका थिए।
पहिले ब्याटिङ गरेको दिल्ली २३.२ ओभरमा ९५ रनमै अलआउट भयो। उसका लागि ओपनर साथक पालले सबैभन्दा बढी २९ रन बनाए।
बलिङमा नेपालका सिब्रिन श्रेष्ठ र अपराजित पौडेलले ३-३ विकेट लिए। विपिनप्रसाद शर्मा र अशोक धामीले २-२ विकेट हात पारे।
विश्वकप छनोटको तयारीका लागि दिल्लीसँग तीन खेलको सिरिज खेलेपछि नेपालले अफागानिस्तानसँग पनि तीन खेलको सिरिज खेल्ने तय छ। अफगानिस्तानसँगको सिरिज चैत २१ देखि मुलपानीमा हुनेछ।
नेपालले आगामी चैत अन्तिम सातादेखि आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोट आयोजना गर्दैछ।
एसिया छनोटमा आयोजक नेपालसहित पाँच टोलीले भाग लिँदैछन्। नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमानले छनोटमा प्रतिस्पर्धा गर्दैछन्।
नेपाल, अफगानिस्तान र युएईले सिधा छनोट खेल्दा हङकङ र ओमानले छनोट पार गरेका हुन्।
यो छनोटको विजेता मात्र सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ।
नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो। त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँचपटक विश्वकप खेलेको थियो। सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ।
नेपाली टोलीमा नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका विपिनप्रसाद शर्मासहित एसिया कपमा खेलेका युवराज खत्री छन्। यस्तै नरेन भट्ट, रोशन विश्वकर्मा, अभिषेक तिवारी, दयानन्द मण्डल पनि टोलीमा छन्। नरेनलाई कप्तान र अभिषेकलाई उपकप्तानको जिम्मेवारी दिइएको छ।
यू-१९ नेपाली टोली
नरेन भट्ट (कप्तान), अभिषेक तिवारी (उप-कप्तान), निरजकुमार यादव, साहिल पटेल, सिव्रिन श्रेष्ठ, रोशन कुमार विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोषकुमार यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री, अरविन्द घर्ती, सोहेल कुवँर, विपिन कुमार शर्मा, नितेश पटेल, अमर मिश्र।