कप्तान ऋतुराज गायकवाड र ओपनर रचिन रविन्द्रको अर्धशतकमा चेन्नाई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) आइपिएलको १८ औं संस्करणको तेस्रो खेलमा चेन्नाईले मुम्बईलाई चार विकेटले पराजित गर्दै विजयी सुरूवात गरेको हो।
मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नाईले ६ विकेट गुमाएर १९.१ ओभरमा पूरा गर्यो।
ओपनर रचिन रविन्द्र ६५ रन बनाउँदै नट आउट रहे। उनले ४५ बलमा २ चौका र ४ छक्का हाने।
कप्तान ऋतुराज गायकवाडले २६ बलमा ६ चौका र ३ छक्का प्रहार गरी ५३ रन बनाए। रवीन्द्र जडेजा १७ रन बनाएर नट आउट रहे। चेन्नाईका अन्य ब्याटर चल्न सकेनन्।
महेन्द्रसिंह धोनीले दुई बल मात्रै खेले तर रन बनाउन सकेनन्।
बलिङतर्फ मुम्बईका विग्नेश पुथुरले तीन तथा दीपक चाहर विल ज्याक्सले एक/एक विकेट लिए।
पहिले ब्याटिङ गरेको मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ३१ रन बनाए। उनले ४१ बलमा २ चौका र २ छक्का हाने। कप्तान सूर्यकुमार यादवले २६ बलमा २ चौका र १ छक्का प्रहार गरी २९ रन बनाए।
नमन धीरले १७, र्यान रिकेल्टनले १३ र विल ज्याक्सले ११ रन जोडे। मुम्बईका अन्य ब्याटर पनि चल्न सकेनन्। ओपनर रोहित शर्मा चार बल खेलेर शून्यमा आउट भएका थिए।
बलिङतर्फ चेन्नाईका नूर अहमदले ४, खलिल अहमदले तीन तथा नाथन इलिस र रविचन्द्रन आश्विनले एक/एक विकेट लिए।
आइपिएलमा सोमबार दिल्ली क्यापिटल्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन्।