प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले फाइनल सम्भावना कायमै राखेको छ।
आइतबार रुपन्देहीको एक्स्ट्राटेक ओभलमा भएको खेलमा गण्डकी प्रदेशलाई ३१ रनले पराजित गर्दै अंक तालिकाको तेस्रो स्थानको एपिएफले फाइनल सम्भावना कायमै राखेको हो।
अन्तिम दुई खेलअघि एपिएफ १० अंक जोड्दै १० अंक जोडेको छ। शीर्ष स्थानको नेपाल पुलिस क्लबको अन्तिम दुई खेलअघि १४ अंक छ। एक खेल खेल्न बाँकी रहेको दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबको पनि १४ अंक छ।
अब एपिएफलाई फाइनलमा स्थान बनाउन आर्मीले अन्तिम खेल गुमाउँदा आफूले बाँकी रहेका दुवै खेल जित्न पर्नेछ। पुलिसले अन्तिम दुई खेल गुमाएर आफूले दुवै खेल जिते पनि एपिएफको फाइनल सम्भावना हुनेछ।
आइतबार एपिएफले २५९ रनको लक्ष्य पछ्याएको गण्डकीलाई ८ विकेटको क्षतिमा २२७ रनमा रोक्यो। गण्डकीका लागि अर्जुन कुमालले ३९ रन र दिनेश बुढामगरले ३४ रन जोड्न सके।
बलिङमा एपिएफका अभिषेक गौतमले ३ विकेट र अमरसिंह रटेउलाले २ विकेट लिए।
त्यसअघि टस जितेको गण्डकीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफ ४९.२ ओभरमा २५८ रनमा अलआउट भयो।
एपिएफका लागि ओपनिङ ब्याटर आसिफ शेखले ८० रन बनाए। उनले ७४ बलमा १० चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर लोकेश बमले ४६ रन बनाए भने सुमित महर्जनले ३१ रन जोडे।
बलिङमा गण्डकीका सन्दीप पराजुली र सुदिप अर्यालले ३-३ विकेट लिए। कमल परियारले २ विकेट हात पारे।