प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब तेस्रो स्थानमा उक्लिएको छ।
एपिएफ शुक्रबार रुपन्देहीको सिद्धार्थनगरमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको हो।
६ खेलबाट ४ जित निकालेको एपिएफ र लुम्बिनीको समान अंक भए पनि एपिएफ रनरेटमा अघि छ। यता सुदूपश्चिम भने ७ मध्ये ५ खेलमा पराजित भइसकेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४८.५ ओभरमा १९१ रनमा अलआउट भयो। उसका लागि निश्चल क्षेत्रीले सर्वाधिक ५७ रन बनाए।
बलिङमा एपिएफका रोहित पौडेल र अमरसिंह रटेउलाले ३-३ विकेट लिए। ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चिएका अमर प्लेयर अफ दि म्याच भए।
१९२ रनको लक्ष्य एपिएफले ७ विकेट गुमाएर ३६.३ ओभरमा पूरा गर्यो। एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन बनाए भने आसिफ शेखले ३२ रनको योगदान गरे।
बलिङमा सुदूरका शेर मल्ल, विकास अग्री र नारायण जोशीले १-१ विकेट हात पारे।