प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले छैटौं जित निकालेको छ।
अघिल्लो खेलमा मधेशसँग पराजित भएसँगै अपराजित यात्रा टुंगिएको आर्मीले शुक्रबार गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्यो। गण्डकी भने ७ मध्ये ६ खेलमा पराजित भइसकेको छ भने अंक तालिकामा पुछारमा छ।
शुक्रबार दाङको लमहीमा टस जितेको आर्मीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गण्डकी ३०.३ ओभरमा ११६ रनमै अलआउट भयो।
गण्डकीका लागि ओपनर अर्जुन कुमालले सबैभन्दा बढी ३३ रन बनाए।
बलिङमा आर्मीका साहब आलमले पाँच विकेट लिए। प्लेयर अफ दि म्याच उनले १० ओभरमा १ मेडन राख्दा ४२ रन खर्चिए। कुशल मल्लले २ विकेट लिए भने नरेन साउदले मात्र ३ बल बलिङ गर्दा २ विकेट हात पारे।
११७ रनको लक्ष्य आर्मीले ४ विकेट गुमाएर २६.५ ओभरमा पूरा गर्यो।
आर्मीका लागि ओपनर त्रृतराज दासले ३७ रन र बसिर अहमदले नटआउट ३२ रन बनाए।