प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनल नजिक पुगेको छ।
पुलिस बिहीबार रुपन्देहीको एक्स्ट्राटेक ओभलमा भएको खेलमा बागमती प्रदेशलाई ९३ रनले पराजित गर्दै फाइनल नजिक पुगेको हो।
अंक तालिकाको शीर्ष स्थानमा रहेको यो पुलिसको लगातार सातौं जिते हो भने बागमती ६ मध्ये ४ खेलमा पराजित भइसकेको छ।
अब एक जित निकाले पुलिसले अन्तिम खेलअघि नै फाइनलमा स्थान बनाउनेछ।
बिहीबार पुलिसले दिएको २९८ रनको लक्ष्य पछ्याएको बामगती ४५.२ ओभरमा २०४ रनमै अलआउट भयो।
बागमतीका लागि इशान पाण्डेले ७० रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। बागमतीका अरु ब्याटर सस्तैमा आउट भए।
बलिङमा पुलिसका स्पिनर ललित राजवंशीले अर्को उत्कृष्ट प्रदर्शन गरे। उनले ४ विकेट लिए। यससँगै उनले सात खेलमा ३० विकेट लिइसकेका छन्। प्लेयर अफ दि म्याच भएका कुशल भुर्तेलको नाममा ३ विकेट रह्यो भने करण केसीले २ विकेट लिन सफल भए।
त्यसअघि पुलिसले ओपनर कुशल भुर्तेलको ८८ रनको मद्दतमा २९७ रन जोड्यो। कुशलले ९८ बलमा ११ चौका प्रहार गरे। अमित श्रेष्ठले ४८ रन र आरिफ शेखले ३८ रनको योगदान गरे। कप्तान दीपेन्द्रसिंह ऐरीले ४६ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ६० रन बनाए।
बलिङमा बागमतीका प्रतिश जिसीले ३ विकेट लिए।
यता कर्णाली प्रदेशले दीपेन्द्र रावतको अलराउन्ड प्रदर्शनमा लुम्बिनी प्रदेशलाई ५ रनले हरायो।
रुपन्देहीको सिद्धार्थनगरमा पहिले ब्याटिङ गरेको कर्णालीले रावतको ६६ रन र अर्जुन घर्तीको ५६ रनको मद्दतमा २०५ रन बनायो।
बलिङमा लुम्बिनीका रेमश कुर्मीले ३ विकेट लिँदा अजय चौहान र बिप्रसोन केसीले २-२ विकेट हात पारे।
२०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी २ बल खेल्न बाँकी छदा २०० रनमा अलआउट भयो। लुम्बिनीका लागि प्रज्वल थापाले ८४ रन जोडे पनि जितका लागि पर्याप्त हुन सके।
बलिङमा कर्णालीका दीपेन्द्र रावत र दिनेश अधिकारीले ३-३ विकेट लिए।
कर्णालीले आफूले खेलेका ६ मध्ये ३ खेलमा जित निकालेको हो। लुम्बिनीले भने ७ मध्ये ४ खेलमा जित र ३ खेलमा पराजय भोगेको छ।