प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैटौं खेलमा जित निकालेको छ।
अंक तालिकाको शीर्ष स्थानको पुलिसले बुधबार रुपन्देहीको सिद्धार्थनगरमा भएको खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रा जारी राखेको हो। यता गण्डकी भने आफूले खेलेका ६ मध्ये ५ खेलमा पराजित भइसकेको र अंक तालिकाको पुछारमा झरेको छ।
पुलिसले गण्डकीले दिएको ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पार गर्यो।
पुलिसका जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गरेका थिए। उनले २२ बलमै अर्धशतक पूरा गरेका थिए। यो अर्धशतक सिजनकै सर्वाधिक छिटो हो। अर्धशतक प्रहार गरे लगत्तै आउट भएका दीपेन्द्रले ५४ रन जोड्ने क्रममा ३ चौका र ६ छक्का प्रहार गरेका थिए।
पुलिसका लागि ओपनर अर्जुन साउदले नटआउट १८ रन बनाउँदा कुशल भुर्तेल शून्य र अमित श्रेष्ठ ७ रनमा आउट भए।
त्यसअघि पुलिसका देब्रे हाँते स्पिनर ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दा गण्डकी ९२ रनमै अलआउट भयो।
ललितले लगातार ४ खेलमा ५ वा सोभन्दा बढी विकेट लिएका लिइसकेका छन्। उत्कृष्ट लयमा रहेका ललितले बुधबार रुपन्देहीको सिद्धार्थनगरमा भएको गण्डकी प्रदेशविरूद्धको खेलमा ५ विकेट लिन सफल भए।
ललितले बुधबार गण्डकीका अर्जुन कुमाल, सुवास भण्डारी, विपिन खत्री, चन्द्र पौडेल र सन्दीप पराजुली सबैलाई क्याच आउट गराएका थिए। प्लेयर अफ दि म्याच ललितले खेलमा ५.२ ओभरमा २ मेडन राख्दा केवल ७ रन मात्र खर्चिए।

ललितले प्रतियोगिताका ६ खेलमा विकेटबिहीन बन्न परेको छैन। उनले पहिलो दुई खेलमा २-२ विकेट लिएका थिए। त्यसपछिका चार खेलमा त उनले ५ वा सोभन्दा बढी विकेट लिएका छन्।
उनले लुम्बिनी र कोशीविरूद्धका सुरुवाती दुई खेलमा २-२ विकेट लिए। त्यसपछि एपिएफविरूद्ध ६ विकेट, मधेसविरूद्ध ५ विकेट, सुदूरपश्चिमविरूद्ध ६ विकेट र बुधबार गण्डकीविरूद्ध ५ विकेट लिए।
ललितले पिएम कपमा ६ खेलमा २६ विकेट लिइसकेका छन्।
बुधबार ललितसँगै पुलिसका लागि गुल्सन झाले ४ विकेट लिन सफल भए। ललितले ५ र गुल्सनले ४ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी २३.२ ओभरमा ९२ रनमै अलआउट भयो।
गण्डकीका लागि अर्जुन कुमालले सबैभन्दा बढी ४८ रन बनाए। अरु ब्याटर सस्तैमा आउट भए।