प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ६९ रनले हराएको छ।
मंगलबार रुपन्देहीको सिद्धार्थनगरमा भएको खेल जितेसँगै बागमतीले आफूले खेलेको पाँचमध्ये दोस्रो खेलमा जित निकाल्न सफल भयो। गण्डकी भने पाँचमध्ये चार खेलमा पराजित भइसकेको छ।
बागमतीले दिएको २८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २१९ रनमा अलआउट भयो।
गण्डकीका लागि वंश क्षेत्रीले ५५ रन बनाए भने समीर कँडेलले २६ रनको योगदान दिए।
बलिङमा बागमतीका इशान पाण्डेले ४ विकेट लिए। प्लेयर अफ दि म्याच पाण्डेले ६ ओभरमा २७ रन दिए। साकार गजुरेलले २ विकेट लिँदा रिजन ढकाल, गौतम केसी र सूर्य तामाङले १-१ विकेट हात पारे।
टस जितेको गण्डकीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमतीले तीन ब्याटरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २८८ रन बनायो।
बागमतीका लागि इशान पाण्डेले ६९ रन, शुभ कंसाकारले ५२ रन र विपिन आर्चायले नटआउट ६३ रन बनाए।
बलिङमा गण्डकीका अर्जुन कुमालले ४ विकेट लिए। उनले सात ओभरमा १ मेडन राख्दा ४० रन दिए। विपिन खत्री र सुवास भण्डारीले २-२ विकेट लिए।