शहरी विकास मन्त्रालयले २०८२ वैशाख २४ गतेभित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्य सम्पन्न गर्ने बताएको छ।
मंगलबार शहरी विकास मन्त्रालयका प्रवक्ता सहसचिव नारायण मैनालीले कीर्तिपुर मैदानको प्यारापिट निर्माण र फ्लड लाइट वैशाखभित्र पूरा हुने जानकारी दिएका हुन्।
‘संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण कार्य र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता सम्पन्न भइ २०८२ बैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढिरहेको छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव नारायण मैनालीले बताए।
मन्त्रालयका सुपरिटेन्डेन्ट इन्जिनियर चक्रवर्ती कन्ठका अनुसार मैदानको चोभार एन्डतर्फ अहिले प्यारापिट निर्माण धमाधम भइरहेको छ। चोभार एन्डतर्फको क्यामेराबक्सको दायाँ र बायाँ प्यारापिट निर्माण भइरहेको छ।
अहिले १० हजार सिट क्षमताको प्यारापिट निर्माण हुनेछ भने ६ वटा फ्लड लाइट जडान गरिनेछ। प्यारापिटमा छाना भने हुनेछैन। तर सिट भने जडान गरिनेछ।
एउटा फ्लड लाइटमा करिब ७० वटा लाइट हुनेछ। अहिले फ्लड लाइट ल्याउनका लागि काम भइरहेको कन्ठले बताए। फ्लड लाइट नेपाल आएपछि दुई हप्तामा जडान सक्ने योजना छ।
ठेकेदार कम्पनीसँग वैशाखसम्म काम सक्ने गरी सम्झौता भएको तथा कम्पनीहरूले प्रतिबद्बताअनुसार काम अघि बढाएको उनले बताए।
मैदानमा अहिले भएका स्थायी संरचना भत्काइएको छैन। अस्थायी संरचनालाई भत्काएर तीन सिफ्टमा काम भइरहेको उनको भनाइ छ।
‘सम्झौता हुँदा काम गर्ने समय ६६ दिन बाँकी थियो,’ मन्त्रालयका सुपरिटेन्डेन्ट इन्जिनियर कन्ठले भने, ‘तीन सिफ्टका लागि काम गर्ने गरी सम्झौता गरेपछि अब १९६ दिन बराबरको काम हुन्छ। यसले कामदारको ज्याला मात्र तीन सिफ्टमा लाग्ने हो। मेसिन र अरु सामग्रीमा थप खर्च हुँदैन।'
अहिले निर्माण हुने संरचना रंगशालाको ‘मास्टर प्लान’ को अंश मात्र हो। बाँकी काम अर्थ मन्त्रालयबाट बजेट बिनियोजन भएपछि अघि बढ्नेछ। मन्त्रालयले क्रिकेटको तालिकामा असर नगर्ने गरी बाँकी काम पूरा गर्ने योजना बनाएको कन्ठले बताए।
‘अर्थ मन्त्रालयबाट बाँकी कामका लागि बजेट बिनियोजन र समय तोकिएपछि मास्टर प्लानको पूरा काम हुन्छ,’ कन्ठले भने, ‘बाँकी काम डेढदेखि दुई वर्षमा सक्ने योजना छ।’
फ्लड लाइट र १० हजार सिट क्षमताको रंगशाला तयार भएपछि पार्किङ, थप संरचना र बाँकी प्यारापिट निर्माण गरिनेछ।
मैदानको प्यारापिट बनाउन बिकेओआई-केसीडिसी-बिजी जेभीले ४३ करोड ७७ लाख ३० हजार ११३.०३ रुपैयाँमा ठेक्का पाएको थियो।
फ्लडलाइट जडानका लागि भने ललितपुरको विशन-इश्वरी जोइन्ट भेन्चरले ठेक्का पाएको छ। कम्पनीले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको हो।