महिला टी-२० त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले सबै ६ खेलमा पराजय भोगेको छ।
शुक्रबार छैटौं तथा अन्तिम खेलमा नेपाललाई थाइल्यान्डले ७ विकेटले पराजित गरेको हो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्यान्डले ३ विकेट गुमाएर १७ ओभरमा पूरा गर्यो।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा ८१ रन मात्र जोड्न सक्यो। नेपालका लागि ओपनर सम्झना खड्काले सबैभन्दा बढी १७ रन जोडिकी थिइन्।
सिरिजमा खराब खेल देखाएको नेपालले थाइल्यान्ड र नेदरल्यान्ड्स दुवैसँगका तीन तीन खेल गुमाएको हो।
सिरिजमा नेपालको उपलब्धि पूजा महतोले नेदरल्यान्ड्सविरूद्ध प्रहार गरेको अर्धशतक र सीता रानमगरले नेदरल्यान्ड्सविरूद्ध एकै खेलमा लिएको पाँच विकेट भयो।
यसबाहेक कप्तान इन्दू बर्माले विदेशी प्रशिक्षकको खाँचो भएको बताउँदा त्यसको जवाफमा नेपालका महिला टोलीका प्रशिक्षक मनोज कटवालले खेलाडीको प्रदर्शनमा उठाएको प्रश्न चर्चामा रहे।
नेपालका खेल
पहिलो खेल – नेदरल्यान्ड्ससँग २० रनको हार
दोस्रो खेल – थाइल्यान्डसँग ४ विकेटले पराजित
तेस्रो खेल – नेदरल्यान्ड्ससँग १५ रनको हार
चौथो खेल – थाइल्यान्डसँग ५ रनको हार
पाँचौं खेल – नेदरल्यान्ड्ससँग १० विकेटले पराजित
छैटौं खेल – थाइल्यान्ड्ससँग ७ विकेटले पराजित