नेदरल्यान्ड्स र थाइल्यान्डबिरुद्ध त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजमा पाँच खेलाडीले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यू गरेका छन्।
सिरिजको अन्तिम तथा छैटौं खेलअन्तर्गत थाइल्यान्डविरूद्धको खेलमा राजमती ऐरीले डेब्यू गरेसँगै एकै सिरिजमा पाँच जना खेलाडीले राष्ट्रिय टोलीमा डेब्यू हुन्।
सशस्त्र प्रहरी बलबाट घरेलु क्रिकेट खेल्ने २२ वर्षीय राजमती नेपाली पुरुष राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीकी बहिनी हुन्।
राजमतीले डेब्यू खेलमा नटआउट ११ रन जोडेकी छिन्। उनले १७ बल खेल्दा कुनै बाउन्ड्री प्रहार गर्न भने सकिनन्।
राजमतीले डेब्यू गरेको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा ८१ रन मात्र जोड्न सक्यो। नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको सिरिजमा नेपाली टोलीमा यसअघि चार खेलाडीले डेब्यू गरेका थिए। जसमा दुई खेलाडी भर्खरै यू-१९ विश्वकप खेलेर फर्किएका खेलाडी छन्।
गत मंगलबार यू-१९ टोलीकी स्पिनर रचना चौधरीले थाइल्यान्डविरूद्ध नै खेलेर डेब्यू गरेकी थिइन्। यस्तै सुदूरपश्चिमकी ब्याटर रेवती धामी, यू-१९ टोलीकी विकेटकिपर अलिसाकुमारी यादव र बागमती प्रदेशकी तीव्र गतिकी बलर मनिषा उपाध्यायले पनि यो सिरिजमा डेब्यू गरे।
यससँगै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीबाट खेल्ने खेलाडीको संख्या ३७ पुगेको छ।
सन् २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपाली टोलीबाट १८ वर्षको अवधिमा ३७ खेलाडीले खेलेका छन्। जसमा सीता रानामगरले सन् २००७ देखि लगातार राष्ट्रिय टोलीबाट खेल्दै आएकी छिन्।