धनगढीमा भइरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले सान्त्वना जित हात पारेपछि फेण्ड्स युथ क्लब डडेल्धुरा र डिसिए धनगढी सेमिफाइनल पुगेका छन्।
समूह ‘ए’ मा रहेको बोष्टन क्रिकेट झापाले घोडाघोडी–११ माथि रोमाञ्चक सहित हासिल गरेपछि धनगढी र डडेल्धुरा अन्तिम चारमा पुगेका हुन् । समूहमा समान चार अंक रहेको फेण्ड्स युथ क्लब डडेल्धुरा दुई खेलमा दुई जित सहित रनरेटको आधारमा शीर्ष स्थानमा रहेको छ डिसिए धनगढी तीन खेलमा दुई जित र एक हार सहित समुहको दोस्रो स्थानमा रहेको छ।
तीन खेलमा दुई हार र एक जित सहित बोष्टन क्रिकेट झापा दुई अंक सहित तेस्रो स्थानमा रहेर प्रतियोगिता सक्काएको छ। फेण्ड्स युथ क्लब डडेल्धुरा र घोडाघोडी–११ ले लिग चरणको अन्तिम खेल खेल्न बाँकी रहेको अवस्थामा घोडाघोडी–११ ले जित हात पार्दा पनि शिर्ष दुई भित्र नपर्ने भएकोले डडेल्धुरा र धनगढी अन्तिम चारमा प्रवेश गरेका हुन् ।
प्रतियोगिताको पाचौं दिनको दोस्रो खेलमा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै बोष्टन क्रिकेट झापाले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा एक सय ६१ रन बनायो । झापाका लागि रोशन शाहले विष्फोटक पारी खेल्दै १५ बलमा ४१ रन बनाए। उनले ५ छक्का र एक चौका प्रहार गरे।
यस्तै झापाका लागि अभिषेक कार्कीले १८ बलमा अविजित ३७ रन, रोहन विकले पनि ३७ रन र पवन कार्कीले २० रन बनाए। घोडाघोडी–११ का लागि शेर मल्लले दुई विकेट लिए। नरवहादुर सार्की, नरेन साउँद, आयुव चन्द र सौर्य श्रेष्ठले एक एक विकेट लिए।
एक सय ६२ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको घोडाघोडी–११ ले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा एक सय ६० रन मात्रै बनाउन सक्यो। उसका लागि दिनेश रावतले अर्धशतकीय पारी खेल्दै ६४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनले ४० बलको मदत्तमा ५ छक्का र चार चौका हिर्काएका थिए । यस्तै आयुव चन्दले २४ रन, दिपक टमाट्टाले १९ रन र कप्तान शेर मल्लले १० रन बनाए पनि अन्य खेलाडीले दोहोरो रनअंक छुन सकेनन् । झापाका लागि अभिषेक कार्कीले ३ विकेट लिए । अरुण ऐरी र रमेश भट्टले एक एक विकेट लिए । खेलमा १५ बलमा ४१ रन बनाएका झापाका रोशन शाह नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।
प्रतियोगिता अन्तर्गत भोलि दुई वटा खेल हुनेछन् । पहिलो खेलमा क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौं र दशरथ चन्द एकेडेमी बैतडी प्रतिस्पर्धा गर्नेछन्। दोस्रो खेलमा घोडाघोडी–११ र फेण्ड्स युथ क्लब डडेल्धुरा खेल्नेछन्।
नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ। धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०-५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ।