प्रधानमन्त्री कप काठमाडौं जिल्ला छनोट क्रिकेट प्रतियोगितामा समूह ‘बी’ को विजेता बनेर ग्रेट हिमालयन क्रिकेट एकेडेमी सेमिफाइनलमा पुगेको छ।
लगातार तेस्रो जित निकाल्ने क्रममा ग्रेट हिमालयनले बुधबार माथिल्लो मुलपानी मैदानमा बालुवाटार क्रिकेट क्लबलाई १९ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको ग्रेट हिमालयनले इशान पाण्डेको ६१ रन र दिपक केवाटको ६१ रनको मद्दतमा ५ विकेटको क्षतिमा १४३ रन जोड्यो।
१४४ रनको लक्ष्य पछ्याएको बालुवाटारले ५ विकेटको क्षतिमा १२५ रन जोड्न सक्यो। उसका लागि प्रसिद्ध जैशीले ५२ रन र सुजल खड्गीले ५१ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङमा ग्रेट हिमालयनका इशान पाण्डेले २ विकेट लिए।
यता यो समूहको अर्को खेलमा एन्जल्स स्पोर्ट्स एकेडेमीले हिमालयन क्रिकेट एकेडेमी ‘ए’ लाई ७ विकेटले हरायो।
पहिले ब्याटिङ गरेको हिमालयनले दीपक बोहोराको नटआउट ५५ रनको मद्दतले ११५ रन जोडे। बलिङमा एन्जल्सका उपेन्द्र खत्रीले ३ विकेट लिए।
खत्रीले नै नटआउट ५८ रन जोडे पनि एन्जल्सले ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। खत्री खेलको प्लेयर अफ दि म्याच भए।
यद्यपी एन्जल्स सेमिफाइनलमा पुग्न सकेन। समूहबाट ग्रेट हिमालयन अन्तिम चारमा पुग्दा एन्जल्ससहित बालुवाटार र हिमालयन क्रिकेट एमेडेमी बाहिरिए।