धनगढीमा भइरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत दिनको दोस्रो खेलमा लोकेश बमको अर्धशतकप्रेरित डिसिए धनगढी विजयी भएको छ।
बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ। तीन खेलमा दुई जित सहित चार अंक बनाएको डिसिए समुह ए को अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।
दुई खेलमा जित हात पारेको सिवाईसी अत्तरिया चार अंक सहित समुह ए को शीर्षस्थानमा छ। समुह ए बाट सेमिफाईनल पुग्ने टोलीको टुंगो भने यसपछि हुने लिग चरणका खेलहरुको नतिजामा भर पर्नेछ।
समूह ए मा रहेको घोडाघोडी–११ ले दुई खेल खेल्न बाँकी छ भने बोष्टन झापा र सिवाईसी अत्तरियाले एक एक खेल खेल्न बाँकी छ। यसपछि घोडाघोडी–११ र बोष्टन झापा तथा घोडाघोडी–११ र सिवाईसी अत्तरिया बीच प्रतिस्पर्धा गर्न बाँकी रहेको छ।
फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा एक सय ४३ रन बनायो।
डिसिएका लागि ओपनर लोकेश बमले अर्धशतकीय पारी खेले। ३६ बलको सामना गरेका उनले चार छक्का र ३ चौका प्रहार गर्दै ५७ रन जोडे। अमित श्रेष्ठले २५ रन बनाए भने मिलन बोहोराले १८ रन बनाए। बोष्टन झापाका लागि पवन कार्की, अभिषेक कार्की र रोशन शाहले दुई दुई विकेट लिए। रुसिल रिमालको नाममा एक विकेट रह्यो।
एक सय ४४ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको बोष्टन झापाले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा एक सय ३७ रन मात्रै बनाउन सक्यो। झापाका लागि दिपु भुजेलले २८ रन बनाए। रोहन विक र अरुण ऐरीले समान २६ रन बनाए। झापाका कप्तान अभिनास सिंहले अविजित १३ रन बनाए पनि आफ्नो टीमलाई जिताउन सकेनन्। अन्तिम २ बलमा १२ रन आवश्यक रहेकोमा कप्तान सिंह छक्का प्रहार गर्दै खेलमा एक बलमा ६ रनको अवस्था सिर्जना गरे। तर अन्तिम बलमा डिसिएका भोजराज भट्टले कुनै रन नदिएपछि डिसिएले ५ रनको जित दर्ता गरेको हो।
डिसिएका लागि नारायण जोशी र राहुल भण्डारीले दुई दुई विकेट लिए। भोजराज भट्टको नाममा एक विकेट रह्यो। खेलमा अर्धशतक बनाएका डिसिएका लोकेश बम नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए। उनले नगद १० हजार सहित ट्रफी पाए।
त्यसअघि दिनको पहिलो खेलम बुटवलले विजयी सुरुवात गरेको छ। गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको चौथो दिन भएको पहिलो खेलमा जित हात पार्दै न्यु होराईजन बुटवलले विजयी सुरुवात गरेको हो।
मंगलबार भएको पहिलो खेलमा दशरथ चन्द एकेडेमी बैतडीलाई ५१ रन अन्तरले हराउँदै न्यु होराईजन बुटवलले विजयी सुरुवात गरेको हो।
फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बुटबलले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा एक सय ५७ रनको योगफल बनायो।
बुटबललाई सम्मानजनक योगफलमा पुराउनका लागि दिपक डुम्रेले सर्वाधिक ४५ रन बनाए। आरिफ खानले ४१ रन बनाए भने कप्तान दिलिप नाथ र प्रतिक श्रेष्ठले २०-२० रन बनाए। बैतडीका लागि भुवन कार्कीले दुई विकेट लिए। खडक बोहोरा, रुपेश सिंह र सल्लाहुदीन खानले समान एक एक विकेट लिए।
एक सय ५८ रनको लक्ष्य लिएर मैदान उत्रिएको दशरथ चन्द एकेडेमी बैतडीले १४.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६ रनमा समेटियो।
बैतडीका लागि बसन्त खत्रीले सर्वाधिक २० रन बनाए। बसन्त सहित हिमाल दौल्यालले १९ रन, सुमित वडालले १४ रन र दिवान पुनले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन्।
न्यु होराईजन बुटबललाई जिताउन तुलवहादुर थापाले ३ विकेट लिए। विप्रोसन केसी र वीरवहादुर मगरले दुई दुई विकेट लिए। सिद्धान्त लोहनी, महेश भार र निर्मल गुरुङले एक एक विकेट लिए। खेलमा ३ विकेट लिएका बुटबलका तुलवहादुर थापा नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए। उनले नगद १० हजार सहित ट्रफी पाए।