प्रधानमन्त्री कप काठमाडौं जिल्ला छनोट क्रिकेट प्रतियोगितामा वान डे क्रिकेट एकेडेमी र फरेवर क्रिकेट ब्वाइइ क्लबले जित निकालेका छन्।
माथिल्लो मुलपानी मैदाना भएको खेलमा वान डेले हिमालयन क्रिकेट एकेडेमी ‘बी’ लाई ५७ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको वान डेले ९ विकेटको क्षतिमा १२३ रन बनायो। उसका लागि विश्वास खत्रीले २९ र निरज ओलीले २५ रन बनाए। बलिङमा हिमालयनका सुमन विश्वकर्माले ४ विकेट लिए।
१२४ रनको लक्ष्य पछ्याएको हिमालयन १३ ओभरमा ६६ रनमा अलआउट भयो। उसका अभिषेक बुढाएरले ३० रन जोडे भने बलिङमा वान डेका मनि गैरेले ५ विकेट लिए।
अर्को खेलमा फरेवरले नेक्सस क्रिकेट एकेडेमीमाथि ५ विकेटको जित निकाल्यो।
नेक्ससले दिएको ११२ रनको लक्ष्य फरेवरले १७.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। उसका लागि जतिन थापाले २७ रन बनाए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेक्ससले मोहमद दिलसाद अलामको नटआउट ६३ रनको मद्दतमा ७ विकेटको क्षतिमा १११ रन जोडेको थियो।