कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो खेलमा सिवाइसी अत्तरिया विजयी भएको छ। अत्तरियाले दशरथचन्द एकेडेमी बैतडीलाई २६ रनले पराजित गर्यो।
जितका लागि पाएको एक सय ६५ रनको लक्ष्य पछ्याएको बैतडीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३८ रन मात्रै बनाउन सक्यो। उसका लागि हिमाल दौल्यालले सर्वाधिक ३९ रन बनाए।
बलिङतर्फ अत्तरियाका विवेक यादवले चार, साहव आलम र कमल गुप्ताले २/२ विकेट लिए।
त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ६४ रन बनायो। जसमा भीम सार्कीले अर्धशतकीय पारी खेल्दै ७० रनमा अविजित रहे। भीमले ३३ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। बैतडीका अमरसिंह रौटेलाले २ विकेट हात पारे।
दिनको दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले घोडाघोडी-११, सुखडलाई ६९ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको धनगढीले राजु रिजालको ३७ रन र लोकेश बमको ३१ रनको मद्दतमा १४९ रन जोड्यो। जवाफी ब्याटिङ गरेको घोडाघोडीविरुद्ध धनगढीका ललितनारायण राजवंशीले ८ रन खर्चिएर ३ विकेट लिँदै विपक्षीलाई ८० रनमा अलआउट गरे।
गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाखसहित ट्रफी पाउनेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई रु एक लाख प्रदान गरिनेछ भने उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु ५०–५० हजार पाउनेछन्। साथै प्लेयर अफ द म्याचलाई रु १० हजार प्रदान गरिनेछ। प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको छ।