नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारीबाट अलग भएका मोन्टी देसाईले सबैलाई धन्यवाद दिएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले देसाईको दुई वर्षको कार्यकाल नथप्ने निर्णय गरेसँगै मोन्टीको कार्यकाल सकिएको हो।
योसँगै उनले सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै आफ्नो कार्यकाल सम्झिएका छन्।
‘प्रिय नेपाल, यो बिदाई होइन, तर हार्दिक धन्यवाद!,’ मोन्टीको भनाइ छ, ‘जनवरी १०, २०२३ मा, मैले नेपाल क्रिकेट संघसँगको अवसरलाई स्वीकार गरें। नेपाल क्रिकेटमा स्थायी प्रभाव छाड्ने आशामा उत्साह र उद्देश्यका साथ पाइला राखेको थिएँ।’
उनले आफ्नो दुई वर्षको कार्षकाल अविस्मरणीय भएको बताउँदै कतिपय क्षण सुन्दर र कतिपय क्षण कोशेढुंगा भएको बताएका छन्।
दुई वर्षअघि त्रिवि मैदानमा भएको एसिसी प्रिमियर कप (एसिया कप) छनौटमा नेपाली समर्थकहरू रुख चाढेर र छाता लिएर मैदानमा उभिएको क्षण सम्झना गरेका छन्। सो प्रतियोगिताको फाइनलमा नेपालले युएईलाई पराजित गर्दै एसिया कपमा स्थान पक्का गरेको थियो। एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेलेको थियो।
यस्तै गत वर्ष नै मुलपानी मैदानमा खेलेको विश्वकप छनौट पनि उनले सम्झिएका छन्। मुलपानीमा युएईलाई नै हराउँदै नेपालले दश वर्षपछि विश्वकपमा स्थान बनाउने क्रममा टी-२० विश्वकपम २०२४ मा स्थान पक्का गरेको थियो। उनले मुलपानी मैदानमा नेपाली समर्थकको जोश उत्कृष्ट भएको व्याख्या गरेका छन्।
उनले दुई वर्षको कार्यकालमा अहिले राम्रो क्षण त कहिले टिमको नराम्रो प्रदर्शन भएको पनि सम्झना गरेका छन्। उनले क्यान व्यवस्थापनसहित छनौटकर्ता, खेलाडी, प्रशिक्षक, अफिसियल, स्कोरर, ग्राउन्ड्सम्यमान, क्यामेराम्यान, कमेन्टेटर र कप्तान रोहित पौडेललाई आफूसँग सहकार्य गरेको कृतज्ञता ज्ञापन गरेका छन्।
‘प्रत्येक व्यक्तिले आ-आफ्नै तरिकाले योगदान पुर्याए, र हामीले बनाएको सौहार्दताको कदर गर्छु,’ उनको भनाइ छ।
उनले नेपाली खेलाडीलाई सन्देश लेख्दै भनेका छन्, ‘तपाईंहरू लाखौंको सपना बोक्नुहुन्छ। दृढ रहनुहोस्, वान बल ब्याटलको मानसिकतालाई अँगाल्नुहोस्। सम्बन्ध, खुलापन, एकता र जवाफदेहितामा निर्मित खुशी ड्रेसिङ रूम सधैं तपाईंको शक्ति हुनेछ।’
उनले क्यानका सपोर्ट स्टाफको भूमिकालाई धन्यवाद दिँदै भनेका छन्, ‘पर्दा पछाडि तपाईंको अथक प्रयास अमूल्य छन्। मेलै सोचेका कुरा पूरा गर्ने तथा लक्ष्य हासिल गर्न मेरो छेउमा उभिनु भएकोमा धन्यवाद।’
नेपाली प्रशंसक नेपाली क्रिकेटको सबैभन्दा ठूलो शक्ति भएको बताउँदै मोन्टीले नेपाली टोलीमा विश्वास गर्न समर्थकलाई आग्रह समेत गरेका छन्।
यस्तै उनले क्यानलाई अवसर दिएकोमा धन्यवाद भन्दै एकताबद्ध भएर नेपाललाई गर्व गराइरहन सुझाव दिएका छन्।
उनले नेपाली जनताका लागि सन्देश लेख्दै भनेका छन्- यहाँ क्रिकेट खेल भन्दा बढी हो, यो एक भावना हो जसले यो राष्ट्रलाई एकताबद्ध गर्छ!
अब नयाँ प्रशिक्षको नियुक्ति प्रक्रिया सुरू हुने
क्यानले सामाजिक सञ्जालमार्फत शनिबार मोन्टी देसाईले नेपाली क्रिकेटमा पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेको थियो।
क्यानका प्रवक्ता छुम्बी लामाले मुख्य प्रशिक्षक मोन्टीसँगको सम्झौताको दुई वर्ष समाप्त भएको र क्यानले उनीसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको जानकारी दिए।
'मुख्य प्रशिक्षकका रूपमा क्यानले उहाँसँग गरेको सम्झौताको समायवधि सकिएको छ। क्यानले उहाँलाई अहिलेसम्मको योगदानका लागि धन्यवाद दिने र सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ,' लामाले सेतोपाटीसँग भने।
लामाले नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया यथाशीघ्र थाल्ने पनि जानकारी दिए।
तत्काल नेपाली राष्ट्रिय पुरूष टिमले कुनै खेलमा सहभागी हुने तय नभएकाले पनि नयाँ प्रशिक्षक नियुक्ति प्रक्रिया अगाडि बढाउन समय रहेको उनले बताए।
'सबै परिस्थितिहरू मिलाएर गरिएको हो। नयाँ प्रशिक्षक नियुक्ती प्रक्रिया चाँडै सुरू हुन्छ,' उनले भने।
मोन्टी गत वर्षको माघमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।
त्यतिबेला नेपाली टोलीको मुख्य प्रशिक्षक बन्नका लागि पाँच जनाको नाम सर्टलिष्टमा परेको थियो।
देसाईले सन् २०१७ मा नेपाली यू१९ टिमसँग ब्याटिङ सल्लाहकारका रूपमा पनि काम गरेका थिए। उनी वेस्ट इन्डिजको पूर्व ब्याटिङ प्रशिक्षक पनि थिए। सन् २००८ देखि २०१५ सम्म आइपिएलमा राजस्थान रोयल्सको साहयक प्रशिक्षकको रुपमा काम गरेका थिए।
देसाई मुख्य प्रशिक्षक भएयता नेपालले एकदिवसीय मान्यता जोगायो। आइसिसी विश्वकप लिग-टु का पछिल्ला १२ मध्ये ११ खेल जित्दै सनसनी मच्चायो। प्रशिक्षक नियुक्ति भएको दुई महिनामै मोन्टीको नेतृत्वमा नेपाली क्रिकेटको साख फर्कियो। कठिन मानिएका १२ मध्ये ११ खेल जितेपछि नेपालको एकदिवसीय मान्यता चार वर्षका लागि जोगिएको थियो।
लिग-टुमा उत्कृष्ट खेलपछि नेपालले सन् २०२३ को एसिसी प्रिमियर कपमा पनि उत्कृष्ट प्रदर्शन गर्यो। नेपालमै आयोजनामा भएको प्रिमियर कप च्याम्पियन बन्यो। प्रिमियर कपको उपाधिसँगै नेपालले एसिया कपमा छनोट भयो। एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो।
गत वर्ष नेपालले मोन्टीकै नेतृत्वमा अर्को उपलब्धि हासिल गर्यो। छनोट पार गर्दै नेपालले दोस्रो पटक टी-२० विश्वकपमा स्थान पक्का गर्यो। घरेलु मैदानमा भएको छनोट पार्दै नेपाल सन् २०२४ को आइसिसी टी-२० विश्वकपमा छनोट भयो।
गत जुनमा अमेरिका र वेस्ट इन्डिजमा भएको आइसिसी टी-२० विश्वकपमा नेपालले अद्भूत खेल देखायो। नेपालले दक्षिण अफ्रिका र बंगलादेशलाई समूहमा चरणमा कडा टक्कर दिएको थियो। तर दुवै खेलमा अन्तिममा चुक्दा नेपाल जित निकाल्न असफल भयो।
मोन्टीको नेतृत्वमा नेपालले पछिल्ला प्रतियोगितामा भने खराब प्रदर्शन गरिरहेको छ। सन् २०२४ मा खेलिएका लिग-टुका १२ एकदिवसीय खेलमध्ये नेपाल २ खेलमा मात्र विजयी भएको छ। आठ खेलमा नेपालले पराजय भोग्दा २ खेल वर्षाले रद्द भए। लिग-टुको यो संस्करणमा नेपाल पहिलो वर्षको अंक तालिकामा पुछारबाट दोस्रो अर्थात् सातौं स्थानमा छ। त्यसैले लिग-टु मा नेपाललाई चुनौती थपिएको छ।
टी-२० फर्म्याटमा पनि नेपालको प्रदर्शन राम्रो हुन सकेको छैन। सन् २०२४ को एसिसी प्रिमियर कपमा नेपालले खराब प्रदर्शन गर्यो। सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपाल एसिया कपमा पुग्न सकेन। यति मात्र होइन तेस्रो स्थानको खेलमा हङकङसँग हार्दा नेपालले इमर्जिङ एसिया कप समेत गुमायो।
यस्तोमा नेपाल क्रिकेट संघ (क्यान) ले देसाईको विकल्प खोज्न लागेको हो।