प्रधानमन्त्री कप काठमाडौं जिल्ला छनोट प्रतियोगितामा महावरी क्लबले लगातार दोस्रो जित हात पारेको छ। जितसँगै महावीर समूह ‘ए’ को शीर्ष स्थानमा पुग्यो।
शनिबार मुलपानी माथिल्लो मानमा महावीरले थर्ड आई युथ क्लबलाई ६८ रनले हरायो।
खेलमा महावीरले दिएको १६२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको थर्ड आइले २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रन मात्रै बनायो।
उसका लागि सुगम बानियाँले २३ रन बनाए। बलिङमा महावीरका सोनु देवकोटा र एकेन्द्र बुढाऐरले समान २-२ विकेट लिए। प्रतिश जिसीले एक विकेट लिए।
पहिले ब्याटिङ गरेको महावीरले सात विकेट गुमाउँदै १६१ रन बनायो। महावीरका लागि सोनु देवकोटाले ३७ रन बनाए। मिलन थापाले ३४ र प्रतिश जिसीले अविजित २४ रन बनाए।
दिनको खेलमा सम्पन्न खेलमा ओएसिसी क्रिकेट एकेडेमीले पुष्पलाल स्पोर्ट्स क्लबलाई ८३ रनले हरायो।