अन्तर्राष्ट्रिय महिला टी-२० सिरिजअन्तर्गत नेपालले आज थाइल्याण्डसँग खेल्दैछ।
किर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार मध्याह्न सवा १२ बजे नेपालले सिरिजको दोस्रो खेल थाइल्याण्डसँग खेल्न लागेको हो।
त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल शुक्रबार नेदरल्याण्ड्ससँग पराजित भएको थियो।
त्यतिबेला नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १३७ रन मात्र जोडेको थियो।
थाइल्याण्डले शुक्रबार नेदरल्याण्ड्सविरूद्ध ८ विकेटको सानदार जित निकालेको थियो। नेदरल्याण्ड्सले दिएको १२३ रनको लक्ष्य थाइल्याण्डले २ विकेटको क्षतिमा १८ ओभरमै पूरा गरेको थियो।
यस हिसाबमा थाइल्याण्ड नेपालका लागि बलियो चुनौती हुने देखिएको छ। पहिलो खेलमा हार ब्यहोरेको नेपाल दोस्रो खेल जित्ने लक्ष्यमा छ।
सिरिजमा तीनै टोलीले दुई दुई पटक एक अर्काविरूद्ध खेल्नेछन्।
नेपाली टोली
इन्दू बर्मा (कप्तान), कविता कुँवर, राजमती ऐरी, अलिसाकुमारी यादव, सीता राना मगर, विन्दू रावल, ममताकुमारी चौधरी, कविता जोशी, रोमा थापा, इश्वरी विष्ट, सम्झनाकुमारी खड्का, पूजा महतो, रुविना क्षेत्री बेल्वासे, मनिषा उपाध्याय, रेवती धामी।