प्रधानमन्त्री कप काठमाडौं जिल्ला छनोट क्रिकेट प्रतियोगितामा पल्सर क्रिकेट एक्लिलेन्स सेन्टर (सिइसी) र न्यु भिजन क्लब विजयी छन्।
शुक्रबार माथिल्लो मुलपानी मैदानमा भएको दिनको पहिलो खेलमा सिइसीले हिमालयन क्रिकेट एकेडेमी ‘बी’ लाई ७६ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको सिइसीले ४ विकेटको क्षतिमा १८२ रन जोड्यो। सिइसीका लागि रित गौतमले ४१ रन र विवेक तामाङले ३८ रन बनाए। बलिङमा हिमालयनका आदित्य थापाले २ विकेट लिए।
१८३ रनको लक्ष्य पछ्याएको हिमालयन ३ विकेटको क्षतिमा १०३ रन बनायो। उसका लागि अभिषेक बुढाऐरले ६२ बलमा नटआउट ७० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन।
अर्को खेलमा न्यु भिजनले नेक्सास क्रिकेट एकेडेमीलाई ७ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको न्यु भिजनले ८ विकेटको क्षतिमा १२८ रन जोड्यो। उसका लागि शार्थक धितालले ३९ रन र बविन बोहोराले २३ रन बनाए।
१२९ रनको लक्ष्य पछ्याएको नेक्सासले ५ विकेटको क्षतिमा १२१ रन मात्र जोड्न सक्यो। उसका लागि अनिलकुमार यादवले सबैभन्दा बढी २७ रन बनाए। बलिङमा न्यु भिजनका जाभ्याङ लामा र शार्दुल भट्टले २-२ विकेट लिए।