आइसिसी यू-१९ महिला विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ।
शुक्रबार क्वालालम्पुरमा भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ९ विकेटले पराजित गर्दै भारतले दक्षिण अफ्रिकासँग उपाधि भिडन्त पक्का गरेको हो।
शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो।
इंग्ल्यान्डले दिएको ११४ रनको लक्ष्य भारतले १५ ओभरमा १ विकेट गुमाएर भेट्टायो।
भारतका लागि ओपनर कामलिनीले नटआउट ५६ रन जोड्ने क्रममा ५० बलमा ८ चौका प्रहार गरिन्।
त्यसअघि टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ११३ रन मात्र जोड्न सक्यो।
इंग्ल्यान्डका लागि ओपनर डाभिना परर्रिनले ४५ रन बनाइन्। बलिङमा भारतकी पारुनिका सिसोधिया र वैष्णभी शर्माले ३-३ विकेट लिए।
अब उपाधिका लागि भारत र दक्षिण अफ्रिका आइतबार प्रतिस्पर्धा गर्नेछन्।