शैक्षिक परामर्शदता अप्टिमस ग्लोबलले नेपाली क्रिकेटका ब्याट्सम्यान तथा जनकपुर बोल्ट्सका कप्तान अनिल कुमार साहलाई ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ।
काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै अप्टिमस ग्लोबलले राष्ट्रिय क्रिकेट खेलाडी साहलाई तीन वर्षका लागि ब्राण्ड एम्बास्डर नियुक्त गरेको हो।
अप्टिमस ग्लोबलका तर्फबाट अध्यक्ष असीम शर्मा मैनाली र क्रिकेटर साहबीच हस्ताक्षर भएसँगै यो सहकार्य सुरु भएको हो ।
क्रिकेटर साह हालै सम्पन्न नेपाल प्रिमियर लिगको विजेता जनकपुर बोल्ट्सका कप्तान हुन्। उनी सन् २०१८ देखि राष्ट्रिय क्रिकेट टिममा रही अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै शैक्षिक परामर्श संघ नेपाल इक्यानका अध्यक्ष शेषराज भट्टराईले नेपाली क्रिकेटको विकास तथा उत्थानमा इक्यानका सदस्य संस्थाहरुको अग्रसरताको प्रशंशा गरे।
क्रिकेटर साहले अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा खुसी व्यक्त गरे। यस्तो सहकार्यलाई जारी राखेमा नेपाली क्रिकेटले थप उचाई प्राप्त गर्ने साहको विश्वास छ ।
अप्टिमस ग्लोबलले अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड, बेलायत लगायतका देशका विश्वविद्यालयको डिग्री हासिल गर्ने नेपाली विद्यार्थीको चाहनामा सहयोग गर्दै आएको छ ।