जय नेपाल कप अन्तर विश्वविद्यालय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालको मध्यपश्चिम विश्वविद्यालय र भारतको लखनऊ विश्वविद्यालय प्रतिस्पर्धा गर्ने भएका छन्।
आज भएको सेमिफाइनलमा लखनऊले बंगालदेशको ढाकालाई ७ विकेटले पराजित गर्दै मंगलबार हुने फाइनलमा स्थान बनाएको हो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको ढाकाले ४ विकेटको क्षतिमा १७९ रन जोडेको थियो। १८० रनको लक्ष्य लखनऊले ३ विकेट गुमाएर १६.५ ओभरमै पूरा गर्यो।
लखनऊको जितमा यशवर्धन सिंहले नटआउट ८२ रन मनन कान्डपालले ५९ रन जोडे।
दोस्रो सेमिफाइनलमा मध्यपश्चिमले त्रिभुवन विश्वविद्यालयलाई ७७ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको मध्यपश्चिमले ८ विकेटको क्षतिमा १९१ रन जोड्यो। उसका लागि रवीन्द्रजंग शाहीले ६९ रन र दीपक डुम्रेले ६३ रन बनाए।
१९२ रन पछ्याएको त्रिभुवन विश्वविद्यालय १८.३ ओभरमा ११४ रनमा अलआउट भयो। उसका लागि ओपनर लोकेश बमले ४४ रन जोडे पनि अरु ब्याटर चलेनन्।
बलिङमा मध्यपश्चिमका विपिन खत्री, दिवान पुन र सुवास भण्डारीले २-२ विकेट लिए।