सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।
शुक्रबार सुपर-४ को आफ्नो दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई ६९ रनको फराकिलो अन्तरले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो।
धनगढीको फाप्ला मैदानमा टस जितेको आर्मीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफले १७ ओभरमा झारिएको खेलमा ३ विकेटको क्षतिमा ११५ रन जोड्यो।
एपिएफका लागि ओपनर राजमती ऐरीले ३५ रन र कविता जोशीले नटआउट ३४ नर जोडिन्। कप्तान इन्दू बर्माले नटआउट १८ रन बनाइन्।
११६ रनको लक्ष्य पछ्याएको आर्मी १७ ओभरमा ४६ रनमै अलआउट भयो। उसका लागि राधिका पुजाराले सबैभन्दा बढी १७ रन बनाइन्।
बलिङमा एपिएफकी रेखा रावालले ४ विकेट लिइन्। उनले ४ ओभरमा १ मेडन राख्दा ११ रन मात्र दिइन्। सबनम राईले २ विकेट हात पार्दा इन्दू बर्माले १ विकेट हात पारिन्। एपिएफले आर्मीका तीन ब्याटरलाई रनआउट गरेको थियो।
अब शनिबार हुने फाइनलमा भिड्ने अर्को टोलीको टुंगो बागमती र सुदूरपश्चिमबीच शुक्रबार नै सकिने खेलपछि लाग्नेछ। बागमतीले जित निकाले फाइनलमा स्थान बनाउनेछ। सुदूरपश्चिम विजयी भए बागमती र आर्मीको सम्भावना हुनेछ।