जय नेपाल कप टी-२० क्रिकेट प्रतियोगितमा मध्यपश्चिम विश्वविद्यालयले लगातार दोस्रो खेलमा जित निकालेको छ। समूह ‘बी’ मा मध्यपश्चिमले दोस्रो खेलमा काठमाडौं विश्वविद्यालय (केयू) लाई १३८ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार १९३ रनको लक्ष्य पछ्याएको केयू १४.२ ओभरमा ५८ रनमै अलआउट भयो। उसका लागि ओपनर इशान पाण्डेले १० रन जोड्दा दिवस सुवेदीले ३१ रन बनाए।
बलिङमा मध्यपश्चिमका विपिन खत्रीले पाँच विकेट लिए। उनले ४ ओभरमा ८ रन मात्र दिए।
त्यसअघि पहिले ब्याटिङ गरेको मध्यपश्चिमले ९ विकेटको क्षतिमा १९२ रन जोड्यो। उसका लागि राजकुमार साहले ३८ बलमा ६२ रन बनाए भने सुवास भण्डारीले २१ बलमा ३९ रनको योगदान गरे। बलिङमा केयूका सुप्रिम बस्नेतले ३ विकेट लिए।
दिनको पहिलो खेलमा बिहार विश्वविद्यालयले पूर्वाञ्चल विश्वविद्यालयलाई १७८ रनको फराकिलो अन्तरले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको बिहारले चन्द्र प्रकासले ४९ बलमा बनाएको ७१ रनको मद्दतमा २१२ रन जोडेको थियो।
२१३ रनको लक्ष्य पछ्याएको पूर्वाञ्चल ११.४ ओभरमा ३४ रनमै अलआउट भयो। उसका लागि कोही ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा बिहारका रोहनकुमारले ४ विकेट र विशाल राजले ३ विकेट लिए।