आइसिसी यू-१९ महिला विश्वकप २०२५ नेपाल समूह चरणबाट बाहिरिएको छ। समूहको अन्तिम खेलमा बुधबार अस्ट्रेलियासँग ८३ रनले पराजित भएसँगै नेपाल समूह ‘डी’ मा तीनै खेलमा पराजित भयो।
मलेसियामा अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटको क्षतिमा ५६ रन मात्र जोड्न सक्यो।
नेपालका लागि कप्तान पूजा महतोले १८ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा अस्ट्रेलियाकी हसरत गिल, मोर्टन र लिलीले २-२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १३९ रन बनायो।
अस्ट्रेलियाका लागि काओम्ही ब्रेले ४५ रन बनाइन भने लारोसाले ३१ रन र हसरत गिलले २१ बलमा नटआउट ३० रन बनाइन्। यस्तै इन्सवर्थले ९ बलमा १६ रन बनाइन्।
बलिङमा नेपालकी कप्तान पूजा महतोले ४ ओभरमा ३ विकेट लिइन्। उनले ३ ओभरभित्र ३ विकेट लिए पनि त्यसपछि अस्ट्रेलियाका ब्याटर चले। यस्तै सीमाना केसीले २ विकेट लिँदा
रिया शर्माले १ विकेट हात पारिन्।
सुपर-६ को पुग्ने समिकरणमा रहन नेपालले आज अस्ट्रेलियालाई पराजित गर्नु पर्ने दबाब थियो। किनभने यसअघि समूहका दुई खेलमा नेपाल पराजित भएको थियो।
पहिलो खेलमा बंगलादेशसँग हारेको नेपालले सोमबार स्कटल्यान्डसँग एक विकेटको स्तब्धपूर्ण नजिता ब्यहोरेको थियो। समूहबाट नेपाल बाहिरिदा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड सुपर-६ मा पुगेका छन्।
अब नेपालले १३ देखि १६औं स्थानको प्लेअफ खेल्नेछ।