आइसिसी यू-१९ महिला विश्वकप शनिबारदेखि मलेसियामा सुरू हुँदैछ। १६ टोलीले भाग लिने विश्वकपका नेपाल समूह ‘डी’ मा छ।
नेपालले समूहमा अस्ट्रेलिया, स्कटल्यान्ड र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
शनिबार हुने पहिलो खेलमा नेपालले बंगालदेशसँग दिउँस सवा १२ बजे प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिता सुरू हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले पाँच जना हेर्नलायक खेलाडीको नाम सार्वजनिक गरेको छ। जसमा नेपालकी कप्तान तथा अलराउन्डर पूजा महतो पनि समावेश छिन्।
आइसिसीले पूजाले विश्वकपमा छनोटमा कुवेतविरूद्ध शतक प्रहार गरेको कुरा उल्लेख गर्दै हेर्नलायक खेलाडीको सूचीमा समावेश गरेको हो।
पूजाले कुवेत विरुद्धको ६९ बलमा अविजित १३० रन बनाएकी थिइन्। जससँगै अन्तर्राष्ट्रिय खेलमा शतक बनाउने दोस्रो नेपाली महिला बनेकी थिइन्। खेलमा नेपालले २१३ रनको थियो भने जवाफी ब्याटिङ गरेको कुवेतविरूद्ध पाँच विकेट समेत लिएकी थिइन्।
सूचीमा अस्ट्रेलियाकी म्यागी क्लार्क पनि छिन्। दोस्रो पटक यू-१९ विश्वकप खेल्न लागेकी उनी केवल १७ वर्षकी भइन्। उनले गत संस्करणमा १२ विकेट लिएकी थिइन्। २०२४ मा महिला बिग ब्यास लिगमा एडिलेड स्ट्राइकर्सगबाट खेलेपछि उनी थप अनुभवी भएकी छिन्।
आइसिसीको सूचीमा परेकी अर्की खेलाडी इंग्ल्यान्डकी जेमिमा स्पेन्स हुन्। गत संस्करणमा रिजर्भ खेलाडी उनले १६ वर्षको उमेरमा राचेल ट्रफीमा उत्कृष्ट खेल देखाएकी थिइन्।
सूचीमा अमेरिकाकी रितु सिंह र भारतकी जी कमलिनी पनि छन्। अमेरिकाकी सिंहले पनि दुई वर्षअघिको पहिलो संस्करण खेलेकी थिइन्। सिंहले हालै अमेरिकाको सिनियर टोलीको लागि पनि खेलेकी छिन्, जिम्बाब्वे विरुद्धको एकदिवसीय खेलमा १० ओभरमा ३७ रन दिएर दुई विकेट लिएकी थिइन्।
भारतकी कमलिनीले भारतको आगामी डब्लूपिएल खेल्दैछिन्। विकेटकिपर-ब्याटर उनले २०२५ मा हरमनप्रीत कौर, शबनीम इस्माइल र नेट साइभर-ब्रन्टसँगै १६ वर्षको उमेरमा २०२३ को च्याम्पियन मुम्बई इन्डियन्सको प्रतिनिधित्व गर्ने तय भएको छ।
गत डिसेम्बरमा भएको एसिया कपमा कमलिनीने पाकिस्तान विरुद्ध ओपनिङ गर्दै २९ बलमा अविजित ४४ रन बनाएकी थिइन्।