नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको आयोजनामा हुने जय नेपाल कप २०२५ मा तीन देशका ८ विश्वविद्यालयका टिमबीच प्रतिस्पर्धा हुने भएको छ।
माघ ७ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने कपमा नेपालका चार, भारतका तीन र बंगलादेशको एउटा विश्वविद्यालका टिम भिड्ने भएका हुन्।
नौं दिनसम्म चल्ने प्रतियोगिता जलवायु परिवर्तनको मुद्दालाई प्रवर्धन र ग्रासरुट क्रिकेटको विकासका लागि आयोजना गर्न लागिएको संघले जनाएको छ।
कपमा नेपालबाट काठमाडौं, त्रिभुवन, मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयका टोलीले भाग लिनेछन्। यस्तै भारतबाट दिल्ली, लखनउ र बिहार विश्वविद्यालयले भाग लिँदैछन्। बंगलादेशको ढाका विश्वविद्यालयले पनि प्रतियोगिता भाग लिनेछ।
काठमाडौं विश्वविद्यालयमा नेपाल प्रिमियर लिग खेलेका चार खेलाडी रहेको आयोजनको भनाइ छ। यस्तै त्रिभुनव र मध्यपश्चिम विद्यालयको टिममा पनि राष्ट्रिय खेलाडी रहनेछन्। भारतका विश्वविद्यालयका टिममा पनि रणजी ट्रफी खेलेका खेलाडी रहेका छन्। ढाकाको टिममा चार जना यू-१९ खेलाडी रहेको नेपाल विद्यार्थी संघले जनाएको छ।
सहभागी आठ टिमलाई दूई समूहमा विभाजन गरिने र समूहका शीर्ष दुई दुई टिम सेमिफाइनल पुग्नेछन्।
प्रतियोगिताको विजेताले १५ लाख पाउनेछ भने उपविजेतालाई १० लाख रूपैयाँ प्रदान गरिनेछ। यस्तै उत्कृष्ट खेलाडीसहित अरु पुरस्कारको राशीमा ५ लाख खर्च हुँदा कुल पुरस्कार राशी ३० लाख रूपैयाँ रहेको छ।
अध्यक्ष दुजाङ शेर्पाका अनुसार प्रतियोगिताको ब्राण्ड एम्बेसडरमा विश्व कीर्तिमान आरोही निमा रिन्जी शेर्पा चयन भएका छन्। प्रतियोताको नारा “विश्वव्यापी उत्षणता र जलवायु परिवर्तन न्यूनीकरण गर्न साझा संकल्प” रहेको छ।