प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितका खेल वर्षाले प्रभावित भएको छ।
कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बिहीबार विहानका लागि निर्धारण गरिएको गण्डकी र कर्णाली प्रदेशबीचको खेलको टस वर्षाले प्रभावित भएको हुँदा टस नै नगरी रद्द भयो।
प्रतियोगितामा आजको दोस्रो खेल लुम्बिनी र एपिएफबीच पनि रद्द भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा भइरहेको यो प्रतियोगिता दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली, एपिएफ, र सुदूरपश्चिम रहेका छन्। समूह ‘बी’ मा कोशी, बागमती, मधेस र आर्मी रहेका छन्।
सुपर–४ चरणमा पुग्न प्रत्येक समूहबाट शीर्ष दुई टोली भिड्नेछन्। फाइनल खेलमा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन्। व्यक्तिगत विधामा प्लेययर अफ द सिरिजले पचाँस हजार, बेस्ट ब्याटर र बेस्ट बलरले २५-२५ हजार रूपैयाा पाउनेछन्।