जय ट्रफी एलिट कप बहुदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत उपाधि भिडन्तको दोस्रो इनिङग्समा नेपाल पुलिस क्लब सामान्य योगफलतर्फ अघि बढेको छ।
वीरगञ्जमा दोस्रो दिनको खेल सकिदा त्रिभुवन आर्मी क्लबविरूद्ध पुलिस १३२-९ को अवस्थामा छ भने ९५ रनले अघि छ। अब अन्तिम दिन बिहीबार पुलिसले अन्तिम विकेटका लागि जोड्ने रनबाट लक्ष्य निर्धारण हुनेछ। अहिलेको अवस्थामा आर्मीले सय रनको हाराहारीमा लक्ष्य पाउने देखिन्छ।
दोस्रो इनिङग्समा पुलिसका लागि कुशल भुर्तेलले ४५ रन र दिलिप नाथले ३४ रन जोडे। दिनको खेल सकिदा सागर ढकाल १ रनमा अविजित रहदा ललित रावजंशीले खाता खोल्न सकेका छैनन्।
बलिङमा आर्मीका शाहब अलामले ५ विकेट लिइनसकेका छन्। पहिलो इनिङग्समा ७ विकेट लिएका शाहबले कुल १२ विकेट लिइसकेका छन्।
यसअघि पहिलो इनिङग्समा पुलिसले १३३ रन जोड्दा आर्मीले १७० रन बनाएको थियो। जसमा ब्याटिङमा पुलिसका लागि कुशल भुर्तेलले ५१ रन जोड्दा बलिङमा आर्मीका शाहबले ७ विकेट लिएका थिए। यस्तै आर्मीका लागि ब्याटिङमा भीम सार्कीले ५८ रन र बसिर अहमदले ४० रन बनाए। बलिङमा पुलिसका सागर ढकालले ५ विकेट लिँदा कुशल भुर्तेलले ३ विकेट हात पारे।