जय ट्रफी बहुदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत फाइनल भिडन्त वीरगञ्जमा लागेको हुस्सुले प्रभावित भएको छ।
हुस्सुका कारण मंगलबार ढिलो गरी सुरु भएको खेलको पहिलो दिन टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले २ विकेट गुमाएर ८५ रन जोड्दा दिनको खेल सकिएको छ।
पुलिसका लागि कप्तान कुशल भुर्तेल ५० रन बनाएर खेलिरहेका छन्। अर्जुन साउदले भने खाता खोलेका छैनन्।
त्यसअघि दिलीप नाथ इनिङग्सकै पहिलो बलमा आउट हुने क्रममा रोयल डक भए। उनलाई आर्मीका सोमपाल कामीले सुमित महर्जनबाट क्याच गराए।
त्यसपछि अमृत श्रेष्ठ २० रन जोडेर पेभिलियन फर्के। उनलाई आर्मीका शाहब अलामले आकाश चन्दबाट क्याच गराए।
यसअघि समूह चरणमा दुईदिवसीय खेलमा शीर्ष दुई बनेका पुलिस र आर्मी उपाधिका लागि भिडेका हुन्। फाइनल खेल भने तीन दिनको हुँदैछ।