प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ।
धनगढीको फाप्ला मैदानमा माघ १२ गतेसम्म चल्ने प्रतियोगितमा सातै प्रदेश र दुई विभागीय टोली गरी ९ टिमको सहभागीता हुनेछ।
यो प्रतियोगिता चार वर्षपछि पुनः धनगढीमा आयोजना हुन लागेको हो। यो प्रतियोगिता नयाँ तथा पुराना खेलाडीका लागि क्षमता देखाउने महत्त्वपूर्ण अवसर भएको नेपाली राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी इन्दु बर्माले भनिन्। उनी विभागीय टिम एपिएफबाट खेल्दैछिन्।
चार वर्षपछि पुनः धनगढीमा आयोजना भएको यो प्रतियोगिताले महिला खेलकुदको महत्वलाई उजागर गर्दै खेलप्रेमीलाई आफ्नै स्थानीय ठाउँमा खेलाडीको उत्कृष्ट प्रदर्शन हेर्ने अवसर प्रदान गर्ने कप्तान बर्माको भनाइ छ।
‘खेल चुनौतीपूर्ण भए पनि हामी तयार छौँ,’ उनले भनिन्।
गत साउनमा एसिसी महिला एसिया कपमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेकी सम्झना खड्काले यसपटक त्रिभुवन आर्मी क्लबबाट प्रतिनिधित्व गर्दैछिन्।
‘आर्मीबाट खेल्नु मेरो लागि नयाँ अनुभव हो। यसबाट धेरै कुरा सिक्नेछु र अझ राम्रो खेल देखाउनेछु,’ उनले भनिन्। उनका अनुसार खेलाडीका लागि यो प्रतियोगिता नयाँ अवसर र चुनौती दुवै हो।
सम्झनाका अनुसार नेपालमा महिला क्रिकेट प्रतियोगिता सीमित छन्। तर प्रधानमन्त्री कपले महिला खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने स्थिर मञ्च प्रदान गरेको छ।
‘हामी यो प्रतियोगितालाई वर्षमा एक पटक खेल्न पाउँछौँ भन्नेमा ढुक्क छौँ। तर महिला क्रिकेटका प्रतियोगिता अझ बढाउन जरुरी छ,’ उनले थपिन्।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा हुने यो प्रतियोगिता दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली, एपिएफ, र सुदूरपश्चिम रहेका छन्। समूह ‘बी’ मा कोशी, बागमती, मधेस, र आर्मी रहेका छन्।
सुपर–४ चरणमा पुग्न प्रत्येक समूहबाट शीर्ष दुई टोली भिड्नेछन्। फाइनल खेलमा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन्। व्यक्तिगत विधामा प्लेयर अफ द सिरिजले पचास हजार, बेस्ट ब्याटर र बेस्ट बलरले २५ हजार पाउनेछन्।
प्रतियोगिताका पहिलो दिन सुदूरपश्चिमले गण्डकीसँग प्रतिस्पर्धा गर्नेछ। स्थानीय खेलाडीहरूले घरेलु दर्शकको माया र समर्थनबाट प्रेरणा पाउने अपेक्षा गरिएको छ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले यो प्रतियोगिताले महिला खेलाडीको क्षमता उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘प्रतियोगिता अवधिभर सबैले समर्थन र सहकार्य गर्नुपर्छ,’ उनले भने।
प्रधानमन्त्री कपले महिला क्रिकेटको स्तर उकास्न र नयाँ खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिन महत्तत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए।
महिला क्रिकेटमा ठूला प्रतियोगिताहरूको आवश्यकता रहेकोमा खेलाडी, प्रशिक्षक, र प्रशंसकहरूको सहमति रहेकाले सोही अनुसार प्रतियोगिता आयोजना गर्न लागि परेको उनको भनाई छ।
प्रतियोगितामा अवधिभरि खेलप्रेमीहरूको साथ, खेलाडीहरूको उत्साह र प्रदर्शन देखिने उनले बताए।
नेपाली महिला क्रिकेटको भविष्य उज्ज्वल बनाउन यस प्रतियोगिताले सहयोग गरिएको धेरै बताएका छन्।