आइसिसी यू-१९ महिला विश्वकपअघिको अभ्यास खेलमा वेस्ट इन्डिजले नेपाललाई ११० रनको लक्ष्य दिएको छ।
मलेसियाको नेगेरी सेम्बिलनमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेटको क्षतिमा १०९ रन बनायो।
वेस्ट इन्डिजका लागि कप्तान समरा रामनाथले २५ रन बनाइन्। सीमाना केसीको बलमा रचना चौधरीबाट क्याच हुनुअघि उनले ३३ बलमा ३ चौका प्रहार गरिन्। जहजारा क्लाक्सटनले नटआउट २२ रन र अबिगल ब्राइसले १९ रन जोडिन्।
११ खेलेकी अबिगलले अन्तिम ओभरमा नेपालकी कप्तान पूजा महतोलाई तीन चौका प्रहार गरेकी थिइन्। तर अन्तिम बलमा उनी रनआउट भइन्। अन्तिम ओभरमा पूजाले १६ रन खर्चिदा वेस्ट इन्डिजले सय रन कटाएको थियो।
ओपनरद्वय असाबी कलन्दर २३ रन र अमृता रामतहाल १० रनमा आउट भए। अमृतालाई नेपालकी रचना चौधरीले कप्तान पूजा महतोबाट क्याच गराउँदा असाबी नेपालकी अलिसा यादव र सीमाना केसीबाट रनआउट भइन्।
बलिङमा नेपालका सीमाना केसी र रचना चौधरीले एक एक विकेट लिए।
विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। यो समूहबाट नेपालले कम्तिमा पनि सुपर-६ मा पुग्ने लक्ष्य बनाएको छ।
विश्वकपको खेलअघि नेपालले वेस्ट इन्डिज र अमेरिकासँग अभ्यास खेल खेल्न लागेको हो।
दोस्रो संस्करणको यो विश्वकपमा १६ टोलीले भाग लिँदैछन्। १६ टोलीलाई चार चार टोली सम्मिलिन चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट समान तीन-तीन टोली सुपर-६ मा पुग्नेछन्।
सुपर-६ मा दुई समूहमा प्रतिस्पर्धा हुनेछ। दुवै समूहका शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्नेछन्।
नेपालका खेल
अभ्यास खेल
नेपाल भर्सेस वेस्ट इन्डिज – पुस २९
नेपाल भर्सेस अमेरिका – माघ २
समूहका खेल
नेपाल भर्सेस बंगलादेश – माघ ५
नेपाल भर्सेस स्कटल्यान्ड – माघ ७
नेपाल भर्सेस अस्ट्रेलिया- माघ ९
नेपाली टोली
पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ।