जय ट्रफी एलिट कप बहुदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणका खेल सकिएका छन्। लिग चरणमा नेपाल पुलिस क्लब दुई जितसहित शीर्ष स्थानमा रह्यो। एक जित र दुई बराबरी खेलको त्रिभुवन आर्मी क्लब दोस्रो बन्यो।
पहिलो र दोस्रो भएका आर्मी र पुलिस उपाधिका लागि भिड्नेछन्। तेस्रो भएको बागमतीले दुई खेल बराबरी खेल्दा पुलिसविरूद्धको अन्तिम खेल गुमायो।
मधेश प्रदेशले बागमतीविरूद्धको पहिलो खेल बराबरी खेल्दा आर्मी र पुलिसविरूद्ध पराजय भोग्यो।
अंक तालिकामा पुलिसले ३ खेलबाट ६६ अंक जोड्यो। दोस्रो भएको आर्मीले ५५ अंक बटुल्दा ४१.५ अंकसहित बागमती तेस्रो भयो। पुछारको मधेशले ३१ अंक मात्र जोड्न सक्यो।
अब आर्मी र पुलिसबीच उपाधि भिडन्तको खेल तीन दिनको हुनेछ। वीरगञ्जमा हुने फाइनल मंगलबारदेखि सुरू हुनेछ।
प्रतियोगिताको निमयअनुसार एक विकेटको ०.५ अंक हुनेछ भने २५ रन बराबर ०.५ अंक प्राप्त हुने व्यवस्था छ। यस्तै बराबरी भएको अवस्थामा पहिलो इनिङग्समा अग्रता लिएको टोलीलाई ७ बोनस अंक र पछि परेको टोलीलाई ३ बोनस अंक पाउने प्रावधान छ।
खेल बराबरी भएमा दुवै टोलीले १-१ अंक बोनस पाउने व्यवस्था छ। यस्तै पहिलो इनिङग्समा अग्रता लिएको टोलीले खेल जितेमा १० अंक पाउने नियम छ।
लिग चरणको तीन खेलमा आर्मीका स्पिनर शाहब अलामले २१ विकेट लिए भने पुलिसका ललितनारायण राजवंशीले १९ विकेट र बागमतीका कप्तान सन्दीप लामिछानेले १८ विकेट लिन सफल भए। ब्याटिङमा मधेशका मयन यादवले २६८ रन, पुलिसका अमृत श्रेष्ठले २२४ रन र बागमतीका शुभ कंसाकारले १९७ रन बनाए।