जय ट्रफी एलिट कप बहुदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशलाई ५ विकेटले पराजित गर्दै पुलिसले आर्मीसँगको उपाधि भिडन्त पक्का गरेको हो।
आइतबार जनकपुरमा बागमतीले दिएको ११६ रनको लक्ष्य पुलिसले ५ विकेटको क्षतिमा पूरा गर्यो।
पुलिसका लागि अमृत श्रेष्ठले अर्धशतक प्रहार गरे। उनले ५६ रन जोड्दा ओपनिङ ब्याटर तथा कप्तान कुशल भुर्तेलले ३२ रनको योगदान दिए।
त्यसअघि दोस्रो इनिङग्समा बागमती २१८ रनमा अलआउट भएपछि पुलिसले ११६ रनको लक्ष्य पाएको थियो। दोस्रो इनिङग्समा बागमतीका लागि रित गौतमले ५२ रन र शुभ कंसाकारले ७० रनको योगदान दिएका थिए। तर अरु ब्याटर टिक्न नसकेपछि पुलिसले ११६ रनको लक्ष्य पाउन सफल भयो।
दोस्रो इनिङग्समा बलिङमा पुलिसका लागि ललितनारायण राजवंशीले ३ विकेट लिए भने श्रवण यादवले २ विकेट हात पार्न सफल भए। गुल्सन झा, रशिद खान, कुशल भुर्तेल र प्रेम तामाङले १-१ विकेट आफ्नो नाममा लेखाए।
पहिलो इनिङग्समा बागमती१ ११२ रनमै अलआउट हुँदा पुलिसले २१५ रन जोडेको थियो। ब्याटिङमा बामगतीका लागि ओपनर इशान पाण्डेले ७१ रन बनाउँदा अरु ब्याटर चल्न सकेनन्। बलिङमा पुलिसका ललितले ४ विकेट लिए भने श्रवण यादवको नाममा ३ विकेट रह्यो। कप्तानको भूमिकामा रहेका कुशल भुर्तेलले २ विकेट लिए।
यता पुलिसका लागि ब्याटिङमा अमृत श्रेष्ठले ७९ रन र अर्जुन साउदले ७७ रन बनाएका थिए। बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानले ४ विकेट लिए भने नन्दन यादव र प्रतिश जिसीले २-२ आ-आफ्नो नाममा लेखाए।
अब आर्मी र पुलिसबीच उपाधि भिडन्तको खेल तीन दिनको हुनेछ। वीरगञ्जमा हुने फाइनल मंगलबारदेखि सुरू हुनेछ।