जय ट्रफी एलिट कप बहुदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको छ। लिगको अन्तिम खेलमा मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो।
आइतबार खेलको दोस्रो दिन वीरगञ्जमा मधेशले दिएको २८ रनको झिनो लक्ष्य आर्मीले २ विकेट गुमाएर पार गर्यो।
त्यसअघि दोस्रो इनिङग्समा मधेश १५० रनमा अलआउट भएपछि आर्मीले २८ रनको लक्ष्य पाएको थियो। दोस्रो इनिङग्समा मधेशका लागि मयन यादवले सर्वाधिक ४९ रन बनाए। बलिङमा आर्मीका बसिर अहमदले ४ विकेट लिए भने शाहब अलामले ३ विकेट र आकाश चन्दले २ विकेट हात पार्न सफल भए।
पहिलो इनिङग्समा मधेश १०२ रनमै अलआउट भएपछि फलोअनमा परेको थियो। त्यसअघि आर्मीले ९ विकेटको क्षतिमा २२५ रन बनाएर इनिङग्स समाप्तीको घोषणा गरेको थियो।
पहिलो इनिङग्समा आर्मीका लागि भीम सार्कीले ५२ रन र बसिर अमहदले ६७ रन बनाए। मधेशका लागि कप्तान हरिशंकर शाहले ३१ रन बनाए।
बलिङमा आर्मीका शाहब अलामले ६ विकेट लिएका थिए। मधेशका लागि पहिलो इनिङग्सको बलिङमा रन्जित कुमारले ५ विकेट लिएका थिए।
शाहबले दुवै इनिङग्समा गरी ९ विकेट लिन सफल भए। उनी खेलको प्लेयर अफ दि म्याच भए। उनले तीन खेलमा कुल २१ विकेट लिइसकेका छन्।
जितसँगै आर्मीले ५५ अंक पुर्याएको छ भने अंक तालिकामा शीर्ष स्थानमा छ। जितसँगै आर्मीले तेस्रो खेलबाट मात्र ३५ अंक जोड्यो। मधेशको तीन खेलबाट ३१ अंक भएको छ। उसले अन्तिम खेलबाट १० अंक मात्र बटुल्न सफल भयो।
प्रतियोगिताको निमयअनुसार एक विकेटको ०.५ अंक हुनेछ भने २५ रन बराबर ०.५ अंक प्राप्त हुने व्यवस्था छ।
यस्तै बराबरी भएको अवस्थामा पहिलो इनिङग्समा अग्रता लिएको टोलीलाई ७ बोनस अंक र पछि परेको टोलीलाई ३ बोनस अंक पाउने प्रावधान छ। यस्तै खेल बराबरी भएमा दुवै टोलीले १-१ अंक बोनस पाउने व्यवस्था छ। यस्तै पहिलो इनिङग्समा अग्रता लिएको टोलीले खेल जितेमा १० अंक पाउने नियम छ।