गत कात्तिकमा नेपाली यू-१९ महिला क्रिकेट टोलीले इतिहास रचेको थियो। युएईमा भएको एसिया छनोटमा पार गर्दै नेपाली टोली आइसिसी यू-१९ विश्वकपमा पुगेको थियो।
जससँगै नेपालले महिलाको पहिलो विश्वकपका छनोट हुने इतिहास बनाएको थियो।
विश्वकपमा छनोट भएपछि नेपालले गत महिना एसिसी यू-१९ एसिया कप खेल्यो। एसिया कपमा नेपालले पाकिस्तानलाई पराजित गर्दै अर्को इतिहास रच्न सफल भयो।
यसरी तीन महिनामा दुई वटा सफलता हासिल गरेको नेपाली महिला टोली शनिबार आइसिसी यू-१९ विश्वकप खेल्न मलेसिया जाँदैंछ।
मलेसिया प्रस्थान गर्नुअघि नेपाली टोलीकी कप्तान पूजा महतो अर्को इतिहास रच्ने बताउँछिन्।
‘एसिया छनोटका लागि दाङमा राखिएको बन्द प्रशिक्षणदेखि नै हामीले इतिहास बनाउने लक्ष्य राखेका थियौं। एसिया छनोट जितेर पहिलो पटक विश्वकपमा स्थान पक्का गर्यो। एसिया कपमा पाकिस्तानलाई हराएर अर्को इतिहास बनायौ। अब विश्वकपमा अर्को इतिहास बनाउनेछौं,’ पूजाले मलेसिया उड्नुअघि भनिन्, ‘हाम्रो लक्ष्य राम्रो क्रिकेट खेल्नु हो। राम्रो क्रिकेट खेलेपछि नजिता आउनेछ र इतिहास बन्नेछ।’
विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। यो समूहबाट नेपालले कम्तिमा पनि सुपर-६ मा पुग्ने लक्ष्य बनाएको छ।
‘इमानदारीतका साथ भन्नु पर्दा हामी सुपर-६ मा पुग्ने लक्ष्यसहित अघि बढेका छौं’ पूजाले भनिन्।
सुपर-६ मा पुग्न नेपालले समूहमा कम्तिमा एक टोलीलाई हराउनु पर्छ। त्यसका लागि नेपाली टोली तयार भएको उनी बताउँछिन्।
नेपालले समूहका खेलअघि दुई वटा वाम अप खेल समेत खेल्नेछ। नेपालले वेस्ट इन्डिज र अमेरिकासँग वाम अप खेल्दा फाइदा पुग्ने प्रशिक्षक महेश्वर रिजाल बताउँछन्।
‘वेस्ट इन्डिज र अमेरिकासँग वाम खेल्दा हामीलाई विश्वकपका खेलका लागि पर्याप्त तयारी पुग्नेछ। हामी यी खेलमा पनि जितका लागि खेल्नेछौं,’ रिजालले भने।
सन् २००४ मा नेपालले यू-१९ पुरुष विश्वकप खेल्दा सहायक प्रशिक्षक रहेका रिजाल अहिले प्रशिक्षकको भूमिकामा छन्। उनले नेपालले राम्रो तयारी गरेको बताउँदै घरेलु मैदानमा भएको अभ्यास खेलले पनि फाइदा पुगेको बताए।
यस्तै विश्वकप खेल्नुअघि मलेसियामै एसिया कप खेल्न पाउनु अर्को राम्रो पक्ष भएको उनले बताए। 'विश्वकपअघि मलेसियामै एसिया कप खेल्न पायौं। हामीले मलेसियाको वातावारणमा राम्रोसँग नियाल्न पाएकाले थप फाइदा पुगेको छ' उनले भने।
नेपालले मुलपानीमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग तीन वटा अभ्यास खेल खेलेको र अन्तिम खेलमा जित निकालेका कारण टोलीको मनोबल बढेको प्रशिक्षक रिजालले बताए।
नेपालको समूहका रहेका अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड बलिया टोली भए पनि नेपाल आफ्नो उत्कृष्ट खेल देखाउन तयार भएको उनको भनाइ छ। ‘हामी विपक्षी टोलीलाई चुनौती दिन तयार छौं। हामी मैदानभित्र र बाहिर राम्रो छाप छाडेर फर्कनेछौं।’
नेपाल क्रिकेट संघ (क्यान) का सचिव नेपाली महिला यू-१९ टोली महिला क्रिकेटको भविष्य भएको बताउँछन्। ‘यसअघि पुरुष यू-१९ टोलीका खेलाडीले पछि राष्ट्रिय टोली धानेका थिए। हामीले यो टोलीलाई भविष्यको राष्ट्रिय टोलीको रुपमा लिएका छौं’ पारसले भने, ‘सबै खेलाडीलाई कुनै दबाब नलिइन खेल्न शुभकामना दिन्छु।’
सन् २०२७ मा नेपालले यू-१९ विश्वकप आयोजना गर्नुअघि अहिलेको विश्वकपमा राम्रो छाप छाड्नु पर्ने पारसले बताए।
नेपालले सन् २०२७ को यू-१९ महिला विश्वकपमा स्थान पक्का गरिसकेको छ। किनभने नेपाल र बंगलादेशले सन् २०२७ को यू-१९ विश्वकपको आयोजकको रुपमा प्रतियोगितामा पनि स्थान पक्का गरिसकेका हुन्। आगामी संस्करणमा स्वत: स्थान पक्का हुनुअघि छनोट भएर नेपाली यू-१९ टोलीले आफूहरु विश्वकपका लागि हकदार भएको समेत प्रमाणित गरेका छन्।
सन् २०२७ मा विश्वकपको आयोजना गरेसँगै नेपालले क्रिकेटको ग्लोबल इभेन्ट पहिलो पटक आयोजना गर्ने इतिहास पनि बनाउनेछ।
सन् २०२३ देखि सुरु भएको यू-१९ विश्वकपको यो दोस्रो संस्करण हो। अघिल्लो संस्करणको छनोटमा नेपाल तेस्रो हुँदा छनोट हुन असफल भएको थियो।
दोस्रो संस्करणको यो विश्वकपमा १६ टोलीले भाग लिँदैछन्। १६ टोलीलाई चार चार टोली सम्मिलिन चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट समान तीन-तीन टोली सुपर-६ मा पुग्नेछन्।
सुपर-६ मा दुई समूहमा प्रतिस्पर्धा हुनेछ। दुवै समूहका शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्नेछन्।
नेपालका खेल
वाम अप
नेपाल भर्सेस वेस्ट इन्डिज – पुस २९
नेपाल भर्सेस अमेरिका – माघ २
समूहका खेल
नेपाल भर्सेस बंगलादेश – माघ ५
नेपाल भर्सेस स्कटल्यान्ड – माघ ७
नेपाल भर्सेस अस्ट्रेलिया- माघ ९
नेपाली टोली
पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ।