जय ट्रफी एलिट कप बहुदिवसीय प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपाल पुलिस क्लब मधेस प्रदेशविरूद्ध पहिलो इनिङग्समा बलियो देखिएको छ।
वीरगञ्जमा बुधबार पहिलो दिनको खेल सकिदा पुलिस १७४-३ को अवस्थामा छ। यससँगै पुलिसले पहिलो दिन ४५ रनको अग्रता लिएको छ।
पुलिसका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले ६३ रन बनाउँदा अर्का ओपनर दिलिप नाथले ४० रनको योगदान दिए। गुल्सन झा २० रनमा आउट हुँदा अमृत श्रेष्ठ ३४ रन र कप्तान आरिफ शेख १३ रन बनाएर खेलिरहेका छन्।
बलिङमा मधेशका हरिशंकर शाहले २ विकेट लिएका छन्।
त्यसअघि टस जितेको पुलिसले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मधेश लञ्चपछि ब्याटिङ नचल्दा १२९ रनमा अलआउट भएको हो।
मधेशका लागि ओपनिङ ब्याटर मयन यादवले ५९ रन जोडे भने निरज यादवले २९ रनको योगदान गरे। मयनले बागमतीविरूद्धको अघिल्लो खेलमा शतक प्रहार गरेका थिए।
अभिषेक तिवारीले नटआउट १७ रन जोड्दा मधेशका अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा पुलिसका गुल्सन झाले ५ विकेट लिए भने कुशल भुर्तेलले २ विकेट लिन सफल भए।
अघिल्लो खेलमा पुलिसले आर्मी र मधेशले बागमती प्रदेशसँग बराबरी खेलेका थिए।