जय ट्रफी एलिट कप बहुदिवसीय प्रतियोगिताअन्तर्गत सुरूवाती दुवै खेल बराबरीमा सकिएका छन्।
वीरगञ्जमा भएको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको पहिलो खेल बराबरीमा सकियो।
यस्तै जनकपुरमा भएको बागमती प्रदेश र मधेश प्रदेशले पनि बराबरी खेलेका छन्। दुवै खेल बराबरीमा सकिए पछि अंक तालिकामा भने तीन टोलीको समान अंक भएको छ।
बागमतीले पहिलो खेलबाट १५ अंक जोडेको छ। मधेश प्रदेश र नेपाल पुलिस क्लबको पनि १५-१५ अंक नै छ। त्रिभुवन आर्मी भने १४ अंक जोडेर चौथो स्थानमा छ।
वीरगञ्जमा आर्मी दिएको १७२ रनको लक्ष्य पछ्याएको पुलिस ८८-५ को स्थितिमा रहदा दोस्रो दिनको खेल सकिएपछि खेल बराबरीमा टुंगिएको हो। दोस्रो इनिङ्गसमा पुलिसका अर्जुन साउद १९ रन र शंकर राना ५ रनमा अविजित थिए। यस्तै अमृत श्रेष्ठले पुलिसका लागि ३६ रन जोडे। बलिङमा आर्मीका शाहब अलामले २ विकेट लिए। उनले त्यसअघि पहिलो इनिङग्समा ८ विकेट लिएका थिए।
त्यसअघि दोस्रो इनिङग्समा आर्मीले १७५ रन जोडेपछि पुलिसले १७२ रनको लक्ष्य पाएको थियो। आर्मीका लागि सोमपाल कामीले नटआउट ८२ रन जोडेका थिए। बलिङमा पुलिसका कुशल भुर्तेलले ४ विकेट लिए भने गुल्सन झाले ३ र ललितनारायण राजवंशीले २ विकेट लिन सफल भए।
पहिलो इनिङग्समा आर्मी १२१ रन र पुलिस १२५ रनमा अलआउट भएका थिए। पहिलो इनिङग्समा पुलिसविरूद्ध आर्मीका स्पिनर शाहबले आठ विकेट लिए। शाहबको आठ विकेटसँगै नेपाल पुलिस पहिलो इनिङग्समा १२५ रनमै अलआउट भएको छ। पुलिसका लागि गुल्सन झाले सर्वाधिक ४७ रन जोडे।
त्यसअघि आइतबार वीरगञ्जमा टस हारेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मीलाई नेपाल पुलिस क्लबले पहिलो इनिङ्ग्समा १२१ रनमै अलआउट गरेको थियो।
आर्मीका लागि कुशल मल्लले सर्वाधिक २५ रन जोडे भने भीम सार्कीले २२ रन जोड्न सके। अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा पुलिसका ललितनारायण राजवंशीले ७ विकेट लिन सफल भए। उनले १४.४ ओभरमा ४ मेडन राख्दा ४७ रन दिए।
मधेशका मयनको शतक
यता जनकपुरमा मधेशले दिएको १६४ रनको लक्ष्य पछ्याएको बागमती ९७-६ मा रहदा दिनको खेल सकिदा यो खेल पनि बराबरीमै सकियो।
बागमतीका लागि दोस्रो इनिङग्समा रित गौतमले सर्वाधिक २५ रन जोड्दा बलिङमा मधेशका हरिशंकर साहले ३ विकेट लिएका थिए। त्यसअघि दोस्रो इनिङग्समा मधेशले ९ विकेटको क्षतिमा २११ रन बनाएर इनिङग्स समाप्तीको घोषणा गरेपछि बागमतीले १६४ रनको लक्ष्य पाएको थियो।
प्रतियोगितामा बलर हाबी भइरहदा मधेशका ओपनिङ ब्याटर यादवले दोस्रो इनिङग्समा १०६ रन जोडे। जय ट्रफीमा प्रहार भएको यो पहिलो शतक हो। उनले शतक बनाउने क्रममा १०८ बल खेलेर १२ चौका र २ छक्का प्रहार गरे। बलिङमा बामगतीका कप्तान सन्दीप लामिछानेले ५ विकेटलिए भने सूर्य तामाङले २ विकेट हात पारे। सन्दीपले पहिलो इनिङग्समा पनि ५ विकेट नै लिएका थिए।
त्यसअघि पहिलो इनिङग्समा मधेश १०२ रन र बागमती १५० रनमा अलआउट भएका थिए।
जनकपुरमा टस जितेर पहिले ब्याटिङ गरेको मधेशलाई बागमतीले पहिलो इनिङग्समा १०२ रनमै अलआउट गरेको थियो। पहिलो इनिङग्समा मधेशका लागि मयन यादवले सबैभन्दा बढी २१ रन जोडेका थिए। बलिङमा बागमती प्रदेशका लागि कप्तान सन्दीप लामिछानलेले ५ विकेट र सूर्य तामाङले ३ विकेट लिएका थिए।
आइतबार नै पहिलो इनिङग्स सुरु गरेको बागमती सोमबार दोस्रो दिनको पहिलो सत्रमा १५० रनमा अलआउट भयो। बागमतीका लागि पहिलो इनिङग्समा नन्दन यादवले ४७ रन जोडे भने शुभ कंसाकार ३५ रन र कप्तान सन्दीप लामिछानेले ३३ रनको योगदान दिए। बलिङमा मधेशका रुपेश सिंह र अभिषेक तिवारीले ४-४ विकेट लिन सफल भए।
दुई बलर लिए १०-१० विकेट
जय ट्रफीको पहिलो दुई खेल सकिदा दुई खेलाडीले १०-१० विकेट लिए।
बामगतीका कप्तान सन्दीप लामिछानेले दुवै इनिङग्समा ५-५ विकेट लिएर प्लेयर अफ दि म्याच चुनिए।
यता पुलिसविरूद्ध शाहब अलामले १० विकेट लिन सफल भए। पहिलो इनिङ्ग्समा ८ विकेट लिएका शाहबले दोस्रो इनिङग्समा २ विकेट लिएसँगै १० विकेट पूरा गर्न सफल भए। उनी पनि खेलको प्लेयर अफ दि म्याच बने।