जय ट्रफी एलिट कप दुईदिवसीय प्रतियोगिताअन्तर्गत मधेश प्रदेशका मयन यादवले शतक प्रहार गरेका छन्।
प्रतियोगितामा बलर हाबी भइरहदा मधेशका ओपनिङ ब्याटर यादवले बागमती प्रदेशविरूद्ध दोस्रो इनिङग्समा १०६ रन जोडेका हुन्। जय ट्रफीमा प्रहार भएको यो पहिलो शतक हो।
उनले शतक बनाउने क्रममा १०८ बल खेलेर १२ चौका र २ छक्का प्रहार गरे। उनको शतकको मद्दतमा मधेश दोस्रो इनिङग्समा राम्रो ब्याटिङ गर्दै बागमतीविरूद्ध अग्रता बढाएको छ।
त्यसअघि पहिलो इनिङग्समा मधेश १०२ रन र बागमती १५० रनमा अलआउट भएका थिए।
जनकपुरमा टस जितेर पहिले ब्याटिङ गरेको मधेशलाई बागमतीले पहिलो इनिङग्समा १०२ रनमै अलआउट गरेको थियो। पहिलो इनिङग्समा मधेशका लागि मयन यादवले सबैभन्दा बढी २१ रन जोडेका थिए। बलिङमा बागमती प्रदेशका लागि कप्तान सन्दीप लामिछानलेले ५ विकेट र सूर्य तामाङले ३ विकेट लिएका थिए।
आइतबार नै पहिलो इनिङग्स सुरु गरेको बागमती सोमबार दोस्रो दिनको पहिलो सत्रमा १५० रनमा अलआउट भयो। बागमतीका लागि पहिलो इनिङग्समा नन्दन यादवले ४७ रन जोडे भने शुभ कंसाकार ३५ रन र कप्तान सन्दीप लामिछानेले ३३ रनको योगदान दिए। बलिङमा मधेशका रुपेश सिंह र अभिषेक तिवारीले ४-४ विकेट लिन सफल भए।